धादिङमा एमालेले टोल–स्तरीय सुरक्षा दस्ता बनाउने

Avatar photo
Dhadingpost
अशोज २३, २०८२

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङले टोल–टोलमा आधुनिक नयाँ पुस्तालाई समेटेर सुरक्षा दस्ता बनाउने गर्ने निर्णय गरेको छ।

एमाले धादिङका उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आतंकवाद र अराजकतावादले प्रभावित भएका गाउँ र बस्तीहरूको सुरक्षाको लागि टोल–टोलमा सुरक्षा दस्ता तयार गर्ने निर्णय भएको बताएका छन् ।

जिल्ला अध्यक्ष भूमी त्रिपाठीले जारी गरेको वक्तव्य अनुसार, “अहिलेको असंवैधानिक र अदृश्य शक्तिको आडमा बनेको सरकारले नेकपा (एमाले) का वरिष्ठ नेता तथा अध्यक्षलाई बिना आधार र प्रमाण धरपकड गर्ने, आम जनतामा डर र त्रास सिर्जना गर्ने, सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने, प्रतिशोधका प्रयास गर्ने जस्ता गतिविधि गरिरहेको छ। यसले एमालेको तेजोवध रोक्ने उद्देश्य राखेको छ।”

बुधबारको उक्त वक्तव्य राख्दै उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले टोलस्तरीय सुरक्षा दस्ता गठन गर्ने निर्णय भएको खुलासा गरेका हुन् ।