जनजागरण कप फुटबलको फाइनल आज -आयोजक र जुरेथुम आमनेसामने

Avatar photo
Dhadingpost
अशोज २३, २०८२

धादिङ । भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्दै समुदायबीच एकता बलियो बनाउन स्थापित जनजागरण तमु समाज सिम्ले नीलकण्ठले आयोजना गरेको दोस्रो जनजागरण कप फुटबल प्रतियोगिताको फाइनल आज हुँदैछ।

फाइनल खेलमा आयोजक जनजागरण टिम बी र जुरेथुम भिड्दै छन्।
रोचक कुरा के छ भने, पहिलो संस्करणको फाइनलमा पनि यही दुई टिम आमनेसामने भएका थिए, जहाँ जुरेथुमले आयोजकलाई पराजित गर्दै उपाधि जितेको थियो ।

समाजका अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार फाइनल खेल आज दिउँसो १ बजे कालिका आधारभूत विद्यालयको खेलमैदानमा हुनेछ।

प्रतियोगिताको विजेता टोलीले नगद रु. ६०,००० सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेताले रु. ३०,००० सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन्।
त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्तालाई जनही रु. १,५०० सहित मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ।

जनजागरण कप फुटबल प्रतियोगिताको उद्देश्य खेलकुदमार्फत गाउँमा भाइचारा, एकता र सामाजिक सचेतना प्रवर्द्धन गर्नुका साथै युवा सहभागिता बढाउने रहेको आयोजकले जनाएको छ।