नेपाली कांग्रेस धादिङले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सुरु

Avatar photo
Dhadingpost
अशोज २२, २०८२

धादिङ । नेपाली कांग्रेस धादिङले पछिल्लो राजनीतिक परिस्थिति र पार्टीभित्र उत्पन्न चुनौतीको गम्भीर समीक्षा गर्दै विशेष महाधिवेशन बोलाउने तयारी स्वरूप हस्ताक्षर संकलन अभियान सुरु गरेको छ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देशभर देखिएको राजनीतिक घटनाक्रमले कांग्रेसको आन्तरिक जीवनमा गहिरो असर पारेको भन्दै पार्टीलाई पुनः सशक्त बनाउन नेतृत्व तहमा विशेष महाधिवेशन अपरिहार्य भएको ठहर गरिएको छ।

धादिङ कांग्रेसका सचिव विकास श्रेष्ठ र सहसचिव नवराज तिमल्सिनाले संयुक्त रूपमा जारी गरेको सूचनामा भनिएको छ,

“आम नागरिकबीच कांग्रेसबारे अनेक भ्रम र दुष्प्रचार फैलाइएको छ। कांग्रेस अब अप्रासंगिक छ भन्ने धारणा बनाउने प्रयास भइरहेको छ। यस्तो अवस्थामा पार्टी जीवन्त बनाउन, समृद्धि, स्थायित्व र सुशासनको नेतृत्व कांग्रेसले नै गर्न सक्छ भन्ने विश्वास दिलाउन गहिरो समीक्षा र निर्णायक कदम आवश्यक छ।”

सूचनाअनुसार पार्टीको विधानको धारा १७ उपधारा २ बमोजिम विशेष महाधिवेशन बोलाउनका लागि केन्द्रीय सभापतिलाई सम्बोधन गरी तयार गरिएको पत्रमा महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन भइरहेको छ।

सचिव श्रेष्ठले सबै महाधिवेशन प्रतिनिधिहरूलाई सो पत्र अध्ययन गरी हस्ताक्षर गर्न अनुरोध गरेका छन्। साथै जिल्ला सभापति तथा प्रतिनिधिसभा क्षेत्रीय सभापतिसँग समन्वय गर्न पनि आग्रह गरिएको छ।

अभियान अन्तर्गत पत्र इमेल, व्हाट्सएप र भाइबरमार्फत पठाइएको र प्राप्त नभएकाले सम्पर्क गर्न आग्रह गरिएको छ।

“जय नेपाल !” भन्ने नारासहित धादिङ कांग्रेसले पार्टीलाई सशक्त र जनविश्वासयुक्त बनाउन सबै प्रतिनिधिको सक्रियता अपेक्षा गरेको छ।