बसेरीमा निःशुल्क आँखा शिविर सम्पन्न, ३०० जनाले पाए सेवा

Avatar photo
Dhadingpost
अशोज २२, २०८२

धादिङ । गङ्गा जमुना गाउँपालिका–६ अन्तर्गत बसेरी स्वास्थ्य चौकीमा आयोजित निःशुल्क आँखा स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।

स्थानीय फुलखर्क कल्याणकारी समाजको आयोजनामा र आई क्याम्प फर चितवन तथा सपोर्ट एण्ड केयर रिहाबिलिटेशन सेन्टरको सहकार्यमा उक्त शिविर सञ्चालन गरिएको हो ।

शिविरमा करिब ३०० जनाले आँखा परीक्षण तथा उपचार सेवा लिएका छन् भने २४ जनालाई मोतिबिन्दु शल्यक्रियाका लागि रिफर गरिएको छ ।
शिविरमा निःशुल्क औषधि, चस्मा वितरण र सर्जिकल परामर्श सेवा प्रदान गरिएको थियो।

स्वास्थ्य चौकीका प्रमुख तथा सूचना अधिकारी बासुदेव ढकालका अनुसार, शिविरले स्थानीय बासिन्दालाई ठूलो राहत पुर्‍याएको छ ।
उनले भने “दूरदराजका बासिन्दाले आँखा उपचारका लागि टाढा जानु नपर्ने भएकोले यो पहल निकै प्रभावकारी भएको छ ।”

शिविरको सफलताका लागि सुरक्षा निकाय, स्थानीय प्रतिनिधि, र समाजसेवीहरूको उल्लेखनीय सहयोग रहेको थियो ।
कार्यक्रममा वडा अध्यक्ष रमेश ढकालको विशेष उपस्थिति रह्यो। उनले वडावासीसँग सहकार्य गर्दै शिविर सफल बनाउन सक्रिय भूमिका निर्वाह गरेेका थिए ।

सो अवसरमा आयोजक संस्थाले विद्यालयका विद्यार्थीहरूलाई कापी, कलमलगायतका शैक्षिक सामग्री पनि वितरण गरेको थियो।

यसैबीच, आयोजक संस्थाका अनुसार भोलि फुलखर्क–बुढाथुम र गङ्गा जमुना गाउँपालिका–३ मा समेत निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । तस्वीर: अमित भट्ट