रूबी भ्याली फुटबलमा आयोजक टिमको जित

Avatar photo
Dhadingpost
अशोज २१, २०८२

धादिङ, सेर्तुङ । रूबी भ्याली गाउँपालिकामा आयोजित अन्तर 7A साइड फुटबल प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । गणेश हिमाल सामुदायिक अध्ययन केन्द्रको आयोजनामा सम्पन्न प्रतियोगितामा आयोजक गणेश हिमाल सामुदायिक अध्ययन केन्द्र ‘बी’ ले विजेताको उपाधि हात पारेको हो ।

प्रतियोगितामा सायन एफसी लापा उपविजेता बनेको छ भने गणेश हिमाल सामुदायिक अध्ययन केन्द्र ‘सी’ तृतीय स्थानमा रह्यो । विजेतालाई ४० हजार, उपविजेतालाई ३० हजार र सान्तोनालाई १५ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।

व्यक्तिगत उत्कृष्टताका आधारमा पनि खेलाडीहरू सम्मानित भएका छन् ।

  • उत्कृष्ट खेलाडी – दाउत तामाङ
  • उत्कृष्ट गोलकर्ता – सुरेन्द्र तामाङ
  • उत्कृष्ट गोलकिपर – बबि तामाङ

मुख्य अतिथि गाउँपालिका अध्यक्ष रामसिंह तामाङले खेलकुदले गाउँमा एकता, सहकार्य र अनुशासनको भावना मजबुत पार्ने बताएका थिए । उनका अनुसार खेलकुदले युवामा सकारात्मक सोच र सामूहिकता विकास गर्न ठूलो भूमिका खेल्छ ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष फेलामा तामाङले खेलकुद गतिविधिबाट गाउँका युवामा नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास हुने विश्वास व्यक्त गरिन् ।

समापन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी, विद्यार्थी र युवाहरूको उल्लेख्य उपस्थिति थियो ।