नलाङमा जारी भलिबलमा धादिङ र रसुवाका टिमलाई पछिपार्दै गोरखा र नुवाकोट फाईनलमा

Avatar photo
Dhadingpost
अशोज २१, २०८२

धादिङ । सिद्धलेक गाउँपालिका–२, नलाङस्थित खिर्रेभञ्याङमा जारी “स्व. लोकबहादुर गुरुङ दोस्रो स्मृति कप” खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा गोरखा र नुवाकोट फाइनलमा प्रवेश गरेका छन् ।

सोमबार सम्पन्न सेमिफाइनल खेलमा गोरखाको घले हार्वेस्टिङ टिमले नुवाकोटको पञ्चकन्या गाउँपालिकामाथि २–१ सेटको जित निकाल्दै फाइनल यात्रा सुनिश्चित गर्‍यो । यस्तै अर्को सेमिफाइनलमा नुवाकोटकै दुप्चेश्वर गाउँपालिकाले आयोजक टिम **सिद्धलेक गाउँपालिका (धादिङ)**लाई २–१ सेटमा हराउँदै उपाधि यात्रामा पुगेको हो ।

फाइनल भिडन्त मंगलबार बिहान ११ बजे घले हार्वेस्टिङ (गोरखा) र **दुप्चेश्वर गाउँपालिका (नुवाकोट)**बीच हुनेछ । त्यस्तै तेस्रो स्थानका लागि पञ्चकन्या गाउँपालिका (नुवाकोट) र **सिद्धलेक गाउँपालिका (धादिङ)**बीच बिहान ९ बजे खेल हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

तमु युवा समाज सिद्धलेक–२ धादिङको आयोजनामा र सिद्धलेक गाउँपालिकाको प्रायोजनमा असोज १७ गतेदेखि सुरु भएको प्रतियोगितामा धादिङ, रसुवा, नुवाकोट र गोरखाका १४ टिम सहभागी थिए । प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन गरिएको थियो ।

प्रतियोगितामा कुन-कुन टिम सहभागी थिए ?
समूह ‘ए’ : चक्रदेवी सेवा समाज धादिङ , जीवन ज्योति युवा क्लब धादिङ, बराम समाज धादिङ , घले हार्वेस्ट गोरखा
समूह ‘बी’ : मेघाङ गाउँपालिका (नुवाकोट), जे.वाई.सी धादिङ , नवक्षितिज युवा क्लब धादिङ
समूह ‘सी’ : ज्वालामुखी गाउँपालिका धादिङ , गल्छी गाउँपालिका धादिङ , सिद्धलेक गाउँपालिका धादिङ
समूह ‘डी’ : पञ्चकन्या गाउँपालिका (नुवाकोट), नवकुण्ड गाउँपालिका (रसुवा), त्रिपुरासुन्दरी गाउँपालिका धादिङ , दुप्चेश्वर गाउँपालिका (नुवाकोट)

विजेताले १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले ५५ हजार ५५५ रुपैयाँ, र तेस्रो हुने टोलीले ३३ हजार ३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

त्यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर, सर्भर, लिब्रो र कोचलाई पनि ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

तमु युवा समाजले हरेक वर्ष दशैंको अवसर पारेर खिर्रेभञ्याङमा यस्तो प्रतियोगिता आयोजना गर्दै आइरहेको छ, जसले जिल्लाका युवा खेलाडीहरूलाई खेलकुदप्रतिको रुचि र अनुशासनमा प्रोत्साहित गर्दै आएको छ । तस्वीरः अनिल अछामी