
धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले यात्रु र यातायात व्यवसायीलाई सावधानी अपनाउन र सहयोग गर्न अनुरोध गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा तथा अति भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुवानबाट हुन सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका सवारी साधन तथा काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी आवतजावत असोज १८, १९ र २० गतेका लागि बन्द गर्ने निर्णय गरेको छ ।
प्राधिकरणको सो निर्णय अनुसार हिजोको जस्तै आज पनि यात्रु र यातायात व्यवसायीहरूले सहयोग गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो ।
हाल धादिङका थाक्रे गाउँपालिका–७ सातकिल्ला, गजुरी गाउँपालिका–५ घाटबेसी, गजुरी गाउँपालिका–६ जहरेखेत र बेनिघाट रोराङ गाउँपालिका–१० ज्वाङखोलास्थित पृथ्वीलोकमार्गमा माथिबाट पहिरो खसेर सडक एकतर्फी अवरुद्ध रहेको प्रशासनले जनाएको छ । दुईतर्फी आवागमन खुलाउन प्रयास भइरहेको पनि जानकारी दिइएको छ ।
प्रशासनले अत्यावश्यक सेवा र काम परेका व्यक्तिहरूलाई भने स्थानीय सुरक्षा निकायसँग समन्वय गरी आवतजावत गर्न अनुरोध गरेको छ ।















