
धादिङ । लगनशील युवा क्लब ज्वालामुखीले आयोजना गर्न लागेको १२औं अनकन्या कप–२०८२ फुटबल प्रतियोगिता स्थगित गरिएको छ । असोज १८ गतेदेखि सञ्चालन हुने भनिएको प्रतियोगिता असोज २१ गतेसम्म देशभर भारी वर्षा हुने सरकारी निकायको सूचनाअनुसार रोकिएको हो ।
नेपाल सरकार ऊर्जामन्त्री, जलस्रोत तथा सिँचाइ मन्त्रालय र जल तथा मौसम विज्ञान विभागबाट प्राप्त सूचनाअनुसार असोज १६ देखि २१ गतेसम्मको अवधिमा असामान्य वर्षा हुने भएकाले प्रतियोगिता सञ्चालनमा कठिनाइ हुने निष्कर्ष निकालिएको क्लबले जनाएको छ ।
आयोजक क्लबका अध्यक्ष आशिष छत्कुलीले विगतदेखि निरन्तर सञ्चालन हुँदै आएको अनकन्या कप यसपालि पनि भव्य रूपमा आयोजना गर्ने तयारी भएपनि प्रतिकूल मौसमका कारण स्थगित गर्नु परेको जानकारी दिए । उनले मौसम अनुकूल भएसँगै नयाँ मिति तोकी प्रतियोगिता सञ्चालन गरिने बताए ।
लगनशील युवा क्लबले स्थानीय समुदाय, खेलप्रेमी तथा सहयोगीहरूलाई आगामी दिनमा पनि निरन्तर साथ–सहयोग प्रदान गर्न हार्दिक अनुरोध गरेको छ ।















