
धादिङ । नीलकण्ठ नगरपालिका–८ बिर्ताबेसीस्थित विन्दुकेशरा साधना केन्द्रले आज एक विशेष कार्यक्रमको आयोजना गर्दै आगामी महान चाड विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान गरेको छ ।
बगैँचा योग साधना केन्द्रका योग प्रशिक्षक बद्री सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विन्दुकेशरा साधना केन्द्रकी शुसिला रिजाल लगायत स्थानीय समाजसेवी, योग साधक तथा शुभचिन्तकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुवेदीले योग अभ्यासलाई स्वस्थ जीवनशैलीको आधारका रूपमा लिँदै समाजका प्रत्येक नागरिकलाई योगाभ्यासमा जोडिन आग्रह गरे। उहाँले योग केवल शारीरिक तन्दुरुस्तीका लागि मात्र नभई मानसिक शान्ति र आत्मबल अभिवृद्धि गर्ने सर्वोत्तम साधन भएको बताएका थिए ।
साधना केन्द्रका पदाधिकारीहरूले दशैंलाई असल बाटो, सत्य, धर्म र न्यायको जीतको प्रतीकका रूपमा लिँदै समाजमा आपसी सद्भाव, मैत्रीभाव र एकताका साथ मनाउनुपर्नेमा जोड दिएका थिए। साथै, स्थानीय बासिन्दाले यस किसिमका धार्मिक–सांस्कृतिक र स्वास्थ्य अभिमुख कार्यक्रमले समाजलाई सही दिशामा लैजान मद्दत गर्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले शुभकामना आदानप्रदान गर्दै योग साधनालाई जीवनशैलीमा उतार्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।














