
धादिङ । सिद्धलेक-१, नयाँबस्तीमा सम्पन्न पहिलो सिद्धलेक म्हेन्दोमाया कप ९ ए–साइड खुल्ला फुटबल नकआउट प्रतियोगिताको उपाधि आयोजक क्लब म्हेन्दोमाया युवा समाज टिम एले हात पारेको छ ।
बिहीबारको फाइनल भिडन्तमा टिम ‘ए’ ले सिद्धलेक वारियरलाई २–१ गोल अन्तरले पराजित गर्दै विजेता बनेको हो । विजेता टिमका लागि मनिष नेपाली र बिमल गोम्जाले एक–एक गोल गरेका थिए भने पराजित टिमका तर्फबाट सन्जिब श्रेष्ठले एक मात्र गोल फर्काए ।
प्रतियोगिताको विजेता म्हेन्दोमाया युवा समाज टिम एले एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो। उपविजेता सिद्धलेक वारियरले ५० हजार रुपैयाँ नगदसहित ट्रफी र मेडलमा चित्त बुझायो । सेमिफाइनलमा पुगेका चक्रदेवी सेवा समाज र म्हेन्दोमाया युवा समाज टिम सिले समान १५–१५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे ।
व्यक्तिगत उत्कृष्टता पुरस्कारमा सिद्धलेक वारियरका सन्जिब श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए भने, रबिन तामाङ (उत्कृष्ट गोलरक्षक), बिपिन कँडेल (उच्च गोलकर्ता) र बिमल गोम्जा (उत्कृष्ट डिफेन्डर) बने । उनीहरूले जनही २–२ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरे ।
विजयी टिमहरूले पाएको नगद रकममा कुनै कर नकटिएको जानकारी आयोजक क्लबका अध्यक्ष पेमा छिरिङ लामाले दिए ।
समापन समारोहमा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले खेलकुदलाई गाउँपालिकाले प्राथमिकतामा राखेको भन्दै बाँजोगरा मैदानलाई स्तरोन्नति गरी स्थायी खेलमैदान निर्माण गर्ने योजना अघि बढाइने बताए । उपाध्यक्ष सबिता अर्यालले खेलकुदले युवालाई अनुशासन र नेतृत्वतर्फ प्रेरित गर्ने माध्यम हुने धारणा राखिन् ।
कार्यक्रममा म्हेन्दोमाया नाच, माने दोरा नाचलगायत विभिन्न सांस्कृतिक प्रस्तुति साथै गायिका रितु तामाङ, डान्सर दुर ब्रेभ तामाङ र गायक सन्दिप स्याम्चेन तामाङले आकर्षक प्रस्तुति दिएका थिए ।
असोज ६ गतेदेखि सुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । उद्घाटन बागमती प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य शालिकराम जम्कट्टेलले गरेका थिए । तस्वीर: अनिल अछामी













