दशैं–तिहारमा शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय धादिङको आग्रह

Avatar photo
Dhadingpost
अशोज ९, २०८२

धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले आगामी विजयादशमी, शुभ–दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै जिल्लावासीलाई शान्ति सुरक्षासहित सुरक्षित र मर्यादित तरिकाले पर्व मनाउन अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी विजयराज खरेलले जारी गरेको सूचनामा पर्वका बेला हुनसक्ने विभिन्न गतिविधिहरू नियन्त्रणमा राखी सामाजिक सद्भाव र सौहार्द कायम राख्न सबैलाई आग्रह गरिएको छ ।

सूचनामा राखिएका प्रमुख बुँदाहरू :

  1. अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना नगर्ने, कालोबजारी तथा मूल्यवृद्धि नगर्ने ।
  2. सवारी साधन क्षमता भन्दा बढी यात्री नबोक्ने, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, तोकिएको भन्दा बढी भाडा नलिने र ट्राफिक नियम पालना गर्ने ।
  3. चाडपर्वका बेला धर्म, जातीय वा सामाजिक सद्भाव खलल हुने कुनै पनि गतिविधि नगर्ने, जुवातास तथा अनलाइन सट्टेबाजी नगर्ने ।
  4. आतिसबाजी, पटाका, विष्फोटक पदार्थ तथा आगलागी हुने अन्य वस्तुको खरिद, बिक्री र प्रयोग नगर्ने ।
  5. चाडपर्व मर्यादित, अनुशासित र सुरक्षित तरिकाले मनाउने ।
  6. पटका पड्काउने, जुवातास खेल्ने, अनावश्यक भीडभाड गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने कार्य नगर्ने ।
  7. दिपावली तथा छठ पर्वमा मैनबत्ती र बिजुली बत्तीको प्रयोग गर्दा सुरक्षामा ध्यान दिने र दुर्घटना नघट्ने गरी पर्व मनाउने ।

यस्तै, कोही कसैले माथि उल्लंघन हुने गरी अवैध गतिविधि गरेको पाइएमा नजिकको सुरक्षाकर्मीलाई जानकारी दिन प्रहरी कार्यालयको फोन नं. १०० वा ०१०-५२०१९९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रशासनले विपरीत कार्य गर्नेहरूमाथि विद्यमान कानुनअनुसार कडाइका साथ कारबाही गरिने चेतावनीसमेत दिएको छ ।