डा. नवीनबन्धु पहाडी लोमश वाङ्मय प्रतिष्ठानबाट सम्मानित हुने

Avatar photo
Dhadingpost
अशोज ५, २०८२

धादिङ । नेपाली भाषा, साहित्य, संस्कृति र वाङ्मयको संरक्षण, प्रवर्द्धन र विकासका लागि सक्रिय लोमश वाङ्मय प्रतिष्ठानले धादिङका साहित्यकार तथा शिक्षाविद् डा. नवीनबन्धु पहाडी (दाहाल) लाई सम्मान गर्ने भएको छ ।

अक्षयकोष दाता रामप्रसाद सापकोटा र प्रतिष्ठानद्वारा गठित समितिको निर्णय अनुसार मोफसलमा रहेर गहन साहित्य साधनासँगै समाजसेवामा निरन्तर समर्पित डा. पहाडीलाई असोज ६ गते नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने वार्षिकोत्सवका अवसरमा सम्मान गरिनेछ । उक्त अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले सम्मान हस्तान्तरण गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’ले जानकारी दिए ।

धादिङको सुनौलाबजार–१ नेवारपानीमा २०२७ साल माघ १ गते लीलानाथ दाहाल र डिलकुमारी दाहालका पुत्रका रूपमा जन्मिएका डा. पहाडी हाल नीलकण्ठ नगरपालिका–३, बीचबजारमा बसोबास गर्दै आएका छन् । उनले भैरवी माध्यमिक विद्यालयबाट एस.एल.सी. पूरा गरी त्रिभुवन विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्रदेखि स्नातकोत्तरसम्मका तह पार गरेका छन् । साथै संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि (PhD) उपाधि प्राप्त गरेका छन् ।

शिक्षकको रूपमा नीलकण्ठ माध्यमिक विद्यालय र नीलकण्ठ बहुमुखी क्याम्पसमा दुई दशकभन्दा बढी वैतनिक सेवा गर्दै आएका डा. पहाडी विभिन्न सामाजिक संस्थाका संस्थापक तथा नेतृत्वकर्ताका रूपमा पनि चिनिन्छन् । उनले सुनौला चोवा (हाल सुनौला भैरवी) माध्यमिक विद्यालय स्थापना, महेन्द्र प्राथमिक विद्यालयलाई माध्यमिक तहमा स्तरोन्नति, धादिङका ३० विद्यालयमा अर्धस्वयम्‌सेवक शिक्षक उपलब्ध गराउने, असहाय नानीहरूको साथी संस्थामार्फत १७५ भन्दा बढी बालबालिकालाई छात्रवृत्ति दिलाउनेजस्ता उल्लेखनीय योगदान गरेका छन् । साथै ‘आमाको माया छात्रावास’ का संस्थापक अध्यक्षका रूपमा विपन्न बालबालिकाको संरक्षण र पालनपोषणमा सक्रिय रहेका छन् ।

साहित्यमा पनि उत्तिकै सक्रिय डा. पहाडीका प्रकाशित कृतिहरूमध्ये पहाडीका कविताहरू, प्रकृतिका पुजारी भूमि, हजुरआमा जाती, कृष्णा, आमाको आँगन (महाकाव्य) उल्लेखनीय छन् । साथै स्नातक तहका ‘साधारण नेपाली’, ‘अनिवार्य नेपाली’ जस्ता पाठ्यपुस्तक सह–लेखन गरेका उनले शुभारम्भ नेपाली (नर्सरीदेखि कक्षा ८) तथा शुभारम्भ हाम्रो सेरोफेरो (कक्षा १–३) जस्ता पाठ्यपुस्तक एकल तथा सहलेखन गरेका छन् ।

उनले पाएको पुरस्कार तथा सम्मानमध्ये Integrity Icon Nepal (२०२०), बाह्रखरी कथा सम्मान (२०७९), सशस्त्र प्रहरी प्रधान कार्यालयबाट उत्कृष्ट कवि सम्मान (२०८०), नेपाल विद्या भूषण पदक (२०८०) तथा एक दर्जनभन्दा बढी संघ–संस्थाबाट प्राप्त सम्मानहरू प्रमुख छन् ।

हाल उनी नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङमा उपप्राध्यापकको रूपमा कार्यरत छन् ।

x