वडा अध्यक्ष ठाकुर गुरुङको पहलमा संकलित २५ लाख, मृगौला पीडित मिनालाई हस्तान्तरण

Avatar photo
Dhadingpost
अशोज ४, २०८२

धादिङ । नेत्रावती डबजोङ गाउँपालिका–१ का वडा अध्यक्ष ठाकुर गुरुङको पहलमा संकलित करिब २५ लाख रुपैयाँ मृगौला पीडित मिनालाई हस्तान्तरण गरिएको छ ।

निमार्चोकका यमबहादुर थापा मगर (अर्जुन) की २५ वर्षीय छोरी मिना थापा मगर करिब ३ वर्षदेखि दुबै मृगौला काम नगर्ने समस्याका कारण डायलाइसिसमार्फत जीवनयापन गर्दै आएकी छन् । उनको उपचारका क्रममा घाँटीमार्फत केनल राखेर बारम्बार डायलाइसिस गर्नु पर्ने भएकाले थप जोखिम बढिरहेको चिकित्सकहरूले बताएका छन् । तत्काल मृगौला प्रत्यारोपण (किड्नी ट्रान्सप्लान्ट) गर्नु पर्ने भए पनि आर्थिक अभावका कारण उपचारमा ढिलाइ भइरहेको थियो ।

सहयोग संकलन अभियानमा विभिन्न संघसंस्था, स्थानीयवासी तथा व्यक्तिहरू सक्रिय सहभागी भएका थिए । नमुना गुरुङ गाउँ होमस्टे, गङ्गाजमुना गाउँपालिका–३ का वडा अध्यक्ष राजकुमार गुरुङ, होमस्टे सञ्चालक लोकबहादुर गुरुङ र बिनिता गुरुङको पहलमा ६ लाख १ हजार १४८ रुपैयाँ संकलन गरिएको थियो ।

त्यसैगरी नेपाली सेनामा कार्यरत विकेस थापा मगरको पहलमा २ लाख ५१ हजार ७०५, टोल सुधार समिति अध्यक्ष टोप थापाको नेतृत्वमा स्थानीयवासीबाट ९० हजार ७७०, वडास्तरबाट १३ लाख २७ हजार ६७० र प्रत्यक्ष रूपमा मिनाको खातामा २ लाख ८१ हजार २१५ जम्मा भएको वडा कार्यालयले जनाएको छ ।

समग्रमा २५ लाख ५२ हजार ५०८ रुपैयाँ संकलन भई मिनाको उपचारका लागि उपलब्ध गराइएको हो ।

संकलित सहयोग रकम नेपाली कांग्रेस महासमिति सदस्य एवम् नेपाल तरुण दलका केन्द्रीय सदस्य दिनेशबहादुर गुरुङ, वडा अध्यक्ष ठाकुर गुरुङ, वडा सहायक सचिव तेजबहादुर अधिकारीलगायतको उपस्थितिमा मिनाको परिवारलाई हस्तान्तरण गरिएको थियाे ।