
काठमाडौं । संघीय संसद् सञ्चालनको ३३ महिनामा सांसद र पदाधिकारीको तलब–भत्ताका साथै भाडासमेत गरी तीन अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ । यसमा संसद् सचिवालयको नियमित प्रशासनिक खर्च जोडिएको छैन ।
संसद् सचिवालयको तथ्यांकअनुसार ०७९ पुसदेखि ०८२ भदौसम्म पदाधिकारी, सदस्य र उनीहरूको सचिवालय व्यवस्थापनका साथै भाडामा गरी कुल तीन अर्ब २१ करोड ८६ लाखभन्दा बढी खर्च भएको हो । संसद् सचिवालयको तथ्यांक र संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा उल्लेखित सुविधालाई आधार मानेर निकालिएको हिसाबअनुसार उक्त रकम खर्च भएको पाइएको हो ।
सचिवालयको लेखा शाखाका अनुसार ०८२ असार मसान्तसम्म तलब–भत्तामा एक अर्ब १० करोडभन्दा बढी खर्च भएको छ । भदौ मसान्तसम्मको जोड्दा यो रकम करिब एक अर्ब १३ करोड पुग्छ । उनीहरूको स्वकीय सचिवालयतर्फ एक अर्ब ६३ करोड ८६ लाख खर्च भएको छ ।
यसैगरी, संसद् सचिवालयले संसद् भवन सञ्चालनबापत नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई वार्षिक १५ करोड भाडा तिर्दै आएको छ । पछिल्लो तीन वर्षको हिसाब गर्दा सचिवालयले ४५ करोड भाडा बुझाइसकेको छ । यी सबै हिसाब जोड्दा तीन अर्ब २१ करोड ८६ लाख सात हजार ६१९ हुन आउँछ ।
सचिवालयकी सूचना अधिकारी सावित्रा शर्माका अनुसार प्रतिनिधिसभा विघटन भएकाले अहिले सभामुख र उपसभामुखबाहेक अन्य सांसदले सुविधा पाउनेछैनन् । तर, राष्ट्रिय सभा कायम भएकाले त्यहाँका पदाधिकारी र सदस्यले भने नियमित पारिश्रमिक र सुविधा पाउँछन् । संसद् भवन बनाइएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जलाइएकाले अब त्यसलाई थप भाडा बुझाउनुपर्नेछैन ।
संघीय संसद्का पदाधिकारी र सदस्यलाई के–के सुविधा हुन्छ ?
संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनअनुसार सभामुख र अध्यक्षले प्रतिमहिना तलब ६७ हजार ३२०, विशेष भत्ता एक हजार, सञ्चार सुविधा तीन हजार, निजी सचिवालय बन्दोबस्त दुई हजार, गार्डघर दुई दुई हजार, अतिथि सत्कार २५ सय, बिजुली धारा दुई हजार, सवारी इन्धन २५० लिटर पाउँछन् । यसका अलावा प्रतिबैठक एक हजार भत्ता, दैनिक भ्रमण भत्ता तीन हजार, फर्निचर खर्च (एकमुस्ट) १५ हजार तथा प्रत्येक तीन महिनामा १० लिटर मोबिल पाउने ऐनमा व्यवस्था छ । सचिवालयतर्फ स्वकीय सचिव (प्रथम श्रेणी) एक, द्वितीय श्रेणी एक, तृतीय श्रेणी एक, कम्प्युटर अपरेटर एकजना पाउँछन् । त्यस्तै, सवारीचालक दुईजना, कार्यालय सहयोगी दुईजना, प्रिन्टरसहितको कम्प्युटर एक थान, साइकल दुई थान, अंगरक्षक पदिक एकजना, बिल्लादार गार्ड एक, सैनिक जवान १० जना पाउँछन् ।
उपसभामुख र उपाध्यक्षले प्रतिमहिना तलब ७२ हजार ७३०, विशेष भत्ता एक हजार, सञ्चार सुविधा तीन हजार, घरभाडा २५ हजार ६०८, निजी सचिवालय बन्दोबस्त १७ सय ५०, गार्डघर १७ सय ५०, अतिथि सत्कार दुई हजार, बिजुली धारा दुई हजार र सवारी इन्धन २३० लिटर पाउँछन् । त्यस्तै, प्रतिबैठक एक हजार भत्ता, दैनिक भ्रमण भत्ता २५ सय, फर्निचर खर्च (एकमुस्ट) १५ हजार तथा प्रत्येक तीन महिनामा ५ लिटर मोबिल पाउने ऐनमा व्यवस्था छ । सचिवालयतर्फ स्वकीय सचिव राप द्वितीय एकजना, कम्प्युटर अपरेटर एकजना, प्रिन्टरसहितको कम्प्युटर एक थान, कार्यालय सहयोगी दुईजना, सवारीचालक दुईजना, दुईवटा साइकल पाउँछन् । अंगरक्षक पदिक एक र बिल्लादार गार्ड एक, सैनिक जवान १० जना पाउँछन् ।
विपक्षी दलको नेताले प्रतिमहिना तलब ७२ हजार ७३०, विशेष भत्ता एक हजार, सञ्चार सुविधा तीन हजार, घरभाडा २५ हजार ६०८, निजी सचिवालय बन्दोबस्त १७ सय ५०, गार्डघर १७ सय ५०, अतिथि सत्कार दुई हजार, बिजुली धारा दुई हजार र सवारी इन्धन २३० लिटर पाउँछन् । यसका साथै प्रतिबैठक एक हजार भत्ता, दैनिक भ्रमण भत्ता २५ सय, फर्निचर खर्च (एकमुस्ट) १५ हजार तथा प्रत्येक तीन महिनामा ५ लिटर मोबिल पाउने ऐनमा व्यवस्था छ । सचिवालयतर्फ स्वकीय सचिव राप द्वितीय एकजना, कम्प्युटर अपरेटर एकजना, प्रिन्टरसहितको कम्प्युटर एक थान, कार्यालय सहयोगी दुईजना, सवारीचालक दुईजना, दुईवटा साइकल पाउँछन् । अंगरक्षक पदिक एक र बिल्लादार गार्ड एक, सैनिक जवान १० जना पाउँछन् ।
मुख्य सचेतकले प्रतिमहिना तलब ७२ हजार ७३०, विशेष भत्ता एक हजार, सञ्चार तीन हजार, घरभाडा २५ हजार ६०८, निजी सचिवालय बन्दोबस्त १७ सय ५०/अतिथि सत्कार दुई हजार, बिजुली धारा दुई हजार र सवारी इन्धन २३० लिटर पाउँछन् । साथै, प्रतिबैठक एक हजार भत्ता, दैनिक भ्रमण भत्ता २५ सय, फर्निचर खर्च (एकमुस्ट) १५ हजार तथा प्रत्येक तीन महिनामा ५ लिटर मोबिल पाउने कानुनी व्यवस्था छ । सचिवालयतर्फ स्वकीय सचिव राप द्वितीय एकजना, कम्प्युटर अपरेटर एकजना, सवारीचालक दुईजना, कार्यालय सहयोगी एकजना, प्रिन्टरसहितको कम्प्युटर एक थान, साइकल एक थान पाउँछन् ।
विपक्षी दलका प्रमुख सचेतकले प्रतिमहिना तलब ६९ हजार ३०, विशेष भत्ता एक हजार, सञ्चार तीन हजार, घरभाडा २५ हजार ६०८, निजी सचिवालय बन्दोबस्त १७ सय ५०, गार्डघर १७ सय ५०, अतिथि सत्कार १७ सय, बिजुली धारा दुई हजार, सवारी इन्धन २०० लिटर पाउँछन् । यसका अतिरिक्त प्रतिबैठक एक हजार भत्ता, दैनिक भ्रमण भत्ता २५ सय, फर्निचर खर्च (एकमुस्ट) १५ हजार तथा प्रत्येक तीन महिनामा ५ लिटर मोबिल पाउने ऐनमा व्यवस्था छ । सचिवालयतर्फ स्वकीय सचिव राप द्वितीय एकजना, कम्प्युटर अपरेटर एकजना, सवारीचालक दुईजना, कार्यालय सहयोगी एकजना, प्रिन्टरसहितको कम्प्युटर एक थान, साइकल एक थान, अंगरक्षक प्रहरी सहायक निरीक्षक एकजना, हेड प्रहरी कन्सटेबल एकजना र प्रहरी जवान चारजना पाउँछन् ।
विषयगत समिति सभापतिले तलब ६९ हजार ३०, विशेष भत्ता एक हजार, सञ्चार तीन हजार, घरभाडा २५ हजार ६०८, निजी सचिवालय बन्दोबस्त १७ सय ५०, गार्डघर १७ सय ५०, अतिथि सत्कार १७ सय, बिजुली धारा दुई हजार, सवारी इन्धन दुई सय लिटर पाउँछन् । थप सुविधामा प्रतिबैठक एक हजार भत्ता, दैनिक भ्रमण भत्ता २५ सय, फर्निचर खर्च (एकमुस्ट) १५ हजार तथा प्रत्येक तीन महिनामा ५ लिटर मोबिल पाउने व्यवस्था छ । सचिवालयतर्फ स्वकीय सचिव राप द्वितीय एकजना, कम्प्युटर अपरेटर एकजना, सवारीचालक दुईजना, कार्यालय सहयोगी एकजना, प्रिन्टरसहितको कम्प्युटर एक थान, साइकल एक थान, अंगरक्षक प्रहरी सहायक निरीक्षक एकजना, हेड प्रहरी कन्सटेबल एकजना र प्रहरी जवान ४ जना पाउँछन् ।
सत्ता र विपक्षी सचेतकले प्रतिमहिना तलब ६९ हजार ३०, विशेष भत्ता एक हजार, सञ्चार तीन हजार, घरभाडा २४ हजार २६८, निजी सचिवालय बन्दोबस्त १२ सय, अतिथि सत्कार १५ सय, बिजुली धारा दुई हजार, सवारी इन्धन १५० लिटर प्राप्त गर्छन् । सुविधा शाखाका अनुसार प्रतिबैठक एक हजार भत्ता, दैनिक भ्रमण भत्ता २५ सय, फर्निचर खर्च (एकमुस्ट) १५ हजार तथा प्रत्येक तीन महिनामा ५ लिटर मोबिल पनि पाउँछन् । सचिवालयतर्फ स्वकीय सचिव राप द्वितीय एकजना, सवारीचालक दुईजना, कार्यालय सहयोगी एकजना, साइकल एक थान पाउँछन् ।
सांसदहरूले प्रतिमहिना तलब ६६ हजार ७०, विशेष भत्ता एक हजार, सञ्चार तीन हजार, घरभाडा १८ हजार, अतिथि सत्कार एक हजार, बिजुली धारा दुई हजार पाउँछन् । यसबाहेक प्रतिबैठक एक हजार भत्ता, बैठक बसेको दिन यातायात एक हजार, दैनिक भ्रमण भत्ता २५ सय, फर्निचर खर्च (एकमुस्ट) १५ हजार पाउँछन् । सचिवालयतर्फ स्वकीय सचिव राप तृतीय एकजना सुविधा पाउने संसद् सचिवालयले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट साभार
