जरुङ सिमटार आविमा दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
अशोज ३, २०८२

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–१ स्थित जरुङ सिमटार आधारभूत विद्यालयमा दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक रमणकुमार चौधरीका अनुसार कार्यक्रममा विद्यालय परिवार, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष जिबसिंह तामाङ प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल तामाङ विशेष अतिथिका रूपमा सहभागी भएका थिए ।

प्रमुख अतिथि तामाङले दशैँजस्ता पर्वले आपसी भाईचारा र सामाजिक एकता बढाउने उल्लेख गर्दै विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा स्थानीय सरकार सधैं प्रतिबद्ध रहेको बताए । विशेष अतिथि बाबुलाल तामाङले विद्यालयको विकास र व्यवस्थापनका लागि समुदायको निरन्तर सहयोग आवश्यक रहेको बताउँदै सबैलाई दशैँको शुभकामना व्यक्त गरे ।

बेनीघाट रोराङको विकट क्षेत्रमा रहेको यस विद्यालयमा हाल करिब १२० जना विद्यार्थी अध्ययनरत छन् । कार्यक्रम अन्त्यमा विद्यालयका प्रधानाध्यापक चौधरीले सहभागीप्रति आभार व्यक्त गर्दै औपचारिक रूपमा समापन गरेका थिए । तस्वीर चन्द्र तामाङ ।