धादिङमा बलात्कार पीडित महिलाको उपचारकै क्रममा मृत्यु

Avatar photo
Dhadingpost
अशोज २, २०८२

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१० की २९ वर्षीया अपाङ्गता भएकी एक महिलाको उपचारकै क्रममा मृत्यु भएको छ । मानसिक रूपमा अपाङ्गता भएकी ती महिलामाथि भदौ २५ गते जबरजस्ती करणी भएको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालका अनुसार, घटनापछि पीडित पक्षले भदौ २६ गते उजुरी दिएको थियो । पीडितलाई घरमा कोही नभएको मौका छोपेर स्थानीय ३१ वर्षीय खिलबहादुर मानन्धरले बलात्कार गरेको आरोप छ ।

पीडित महिलालाई रक्तअल्पताका कारण सिकिस्त बनेपछि भदौ ३१ गते धादिङ अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका चिकित्सकहरूले रगत चढाउँदै उपचार गर्ने प्रयास गरे पनि बुधवार बिहान उनको मृत्यु भएको धादिङ अस्पतालले जनाएको छ ।

घटनापछि फरार रहेका आरोपितलाई पक्राउ गर्न प्रहरी परिचालन भए पनि अहिलेसम्म पक्राउ गर्न सकिएको छैन । शवको बुधवार धादिङ अस्पतालमै पोस्टमार्टम गरिएको प्रहरीले जनाएको छ। तस्वीरः साङ्केतिक