धादिङमा प्याब्सन स्तरीय दोस्रो त्रैमासिक परीक्षा आजदेखि

Avatar photo
Dhadingpost
अशोज २, २०८२

धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) धादिङअन्तर्गतका विद्यालयहरूमा आज दिउँसोदेखि दोस्रो त्रैमासिक परीक्षा सुरु हुँदै छ । परीक्षाका लागि प्रश्नपत्र स्वयं प्याब्सन धादिङले तयार गरी सम्बन्धित विद्यालयहरूमा पठाइसकेको जानकारी सचिव भीमबहादुर श्रेष्ठले दिए ।

उनका अनुसार धादिङमा ३२ वटा विद्यालय प्याब्सनमा आवद्ध छन् र ती विद्यालयका करिब १३ हजारभन्दा बढी विद्यार्थी आजदेखि परीक्षा दिन लागेका छन् । सबै विद्यालयहरूमा एउटै पाठ्यपुस्तक, एउटै प्रश्नपत्र र एउटै परीक्षा योजना लागू गरिएको छ । एउटै ढाँचामा परीक्षा सञ्चालन गर्नुका कारण शैक्षिक मूल्याङ्कनमा समानता आउने र विद्यार्थीहरूको क्षमताको यथार्थ मूल्याङ्कन गर्न सहज हुने उनले बताए। यसले विद्यालयबीचको प्रतिस्पर्धालाई शैक्षिक गुणस्तरसँग जोड्न र विद्यार्थीलाई अझ अनुशासित बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे ।

अभिभावकहरूले पनि एउटै ढाँचामा हुने परीक्षाले विद्यार्थीको अध्ययनमा निरन्तरता र अनुशासन ल्याउने विश्वास व्यक्त गरेका छन् । “यसरी एउटै मापदण्डमा परीक्षा हुँदा नतिजा विश्वसनीय हुन्छ,” एक अभिभावकले भने । शिक्षकहरूले समेत यस परीक्षाबाट विद्यार्थीहरूको वास्तविक प्रगति पत्ता लाग्ने र भविष्यको पठनपाठनलाई त्यसअनुसार परिमार्जन गर्न सकिने धारणा राखेका छन् ।

प्याब्सन धादिङले विगत देखिनै सामूहिक ढाँचामा प्रश्नपत्र तयारी र परीक्षा सञ्चालन गर्दै आएको छ । यसपटकको परीक्षा जिल्लाभरका विद्यार्थीहरूको शैक्षिक प्रगति मूल्याङ्कन गर्ने महत्त्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ ।