चुनावमा केन्द्रित हुन कार्यकर्तालाई जम्कट्टेलको निर्देशन

Avatar photo
Dhadingpost
अशोज १, २०८२

धादिङ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलले कार्यकर्तालाई आगामी निर्वाचनका लागि केन्द्रित हुन निर्देशन दिएका छन् ।

धादिङ क्षेत्र नं १ प्रदेश (ख) का पार्टी पदाधिकारी तथा निर्वाचित जनप्रतिनिधिहरू सहभागी बैठक तथा छलफल कार्यक्रममा बोल्दै उनले चुनावलाई नै प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए ।

नेता जम्कट्टेलले सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते निर्वाचन गराउनेमा शंका रहेको तर माओवादी केन्द्रले तोकिएकै मितिमा चुनाव गर्न दवाव दिने बताए । “मुलुकको रक्षा माओवादीले नै गर्छ भन्नेमा नयाँ पुस्ता समेत विश्वस्त छन्,” उनले भने ।

ओली नेतृत्वको अहमता र भ्रष्टाचारका कारण सिर्जित जेन्जी आन्दोलनले पनि संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विरोध नगरेको दाबी गर्दै उनले प्राप्त उपलब्धीको संरक्षणका लागि नयाँ पुस्ताले समेत माओवादीलाई समर्थन गर्ने विश्वास व्यक्त गरे ।

पार्टीभित्र केही अन्तरविरोधहरू रहेको स्वीकार गर्दै उनले त्यसतर्फ ऊर्जा खर्च नगरी एकताबद्ध भएर चुनावी तयारीमा लाग्न आग्रह गरे । “अब जनताको घरदैलोमा पुगौं, एकतामा जोड दिऔं र चुनावलाई नै केन्द्रमा राखौं,” जम्कट्टेलले कार्यकर्तालाई निर्देशन दिए ।