आज विश्व ओजोन तह संरक्षण दिवस

Avatar photo
Dhadingpost
भदौ ३१, २०८२

काठमाडौं । विश्वव्यापी रूपमा हरेक वर्ष सेप्टेम्बर १६ का दिन “विश्व ओजोन तह संरक्षण दिवस” मनाइन्छ । यस दिवसको सुरुआत सन् १९९४ देखि भएको हो । राष्ट्रसंघले १९८७ मा मोन्ट्रियल प्रोटोकलमा हस्ताक्षर भएको दिनलाई ऐतिहासिक मान्दै १६ सेप्टेम्बरलाई स्मरण दिवसका रूपमा घोषणा गरेको हो ।

ओजोन तह पृथ्वीको स्ट्राटोस्फियरमा अवस्थित एक संवेदनशील तह हो, जसले सूर्यबाट आउने हानिकारक पराबैंगनी किरणलाई रोक्छ। यो तह क्षीण हुँदा मानवमा छालाको क्यान्सर, आँखाको क्याटर्याक्ट, प्रतिरक्षा प्रणाली कमजोर हुने जस्ता समस्या देखिन सक्छन्। साथै, कृषि उत्पादन र समुद्री जीवजन्तुको जीवन चक्रमा पनि गम्भीर असर पर्छ ।

१९८० दशकमा क्लोरोफ्लोरोकार्बन (CFCs) जस्ता रसायनले ओजोन तहमा ठूलो क्षति पुर्‍याएको प्रमाणित भएपछि मुलुकहरूले सन् १९८७ मा मोन्ट्रियल प्रोटोकलमा हस्ताक्षर गरे । यस सम्झौताले ओजोन तहलाई क्षति गर्ने पदार्थहरूको प्रयोग नियन्त्रणमा ल्याएको छ र हालसम्म यो तह क्रमशः निको हुँदै गएको वैज्ञानिकहरूले बताएका छन् ।

वातावरणविद्हरूका अनुसार यदि यो तहको संरक्षणमा निरन्तर ध्यान दिइयो भने सन् २०६० दशकतिर अण्टार्क्टिक क्षेत्रमा बनेको ओजोन प्वाल पनि बन्द हुने अपेक्षा गरिएको छ ।

यस दिवसको अवसरमा विभिन्न देशहरूमा सचेतनामूलक कार्यक्रम, विद्यार्थीमाझ प्रशिक्षण तथा जनस्तरमा अभियान सञ्चालन गरिन्छ । विज्ञहरू भने सचेत रहँदै वातावरणीय सम्झौताहरूलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिन्छन् ।