
धादिङ । दशैंको अवसर पारेर रूबीभ्याली गाउँपालिका–१, तिप्लिङ (लब्दुङ) मा स्व. जस थापा तामाङको सम्झनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । लब्दुङ युवा समाजको आयोजनामा असोज १६ देखि १९ गतेसम्म भलिबल प्रतियोगिता साथै गोरुजुदाई कार्यक्रम आयोजना गरिने तयारी गरिएको छ ।
प्रतियोगितामा विजयी टिमले आकर्षक नगद पुरस्कारसहित ट्रफी र मेडल पाउनेछन् । पहिलो हुनेले रु. ५० हजार ५५५, दोस्रोले रु. ३० हजार ५५५ र तेस्रोले रु. २० हजार ५५५ प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडीलाई रु. १५००, उत्कृष्ट डिफेन्डर, स्पाइकर र लिफ्टरलाई जनही रु. १००० का दरले पुरस्कृत गरिनेछ । प्रत्येक टिमले प्रतियोगितामा सहभागी हुन रु. ३५०० शुल्क तिर्नुपर्नेछ ।
आयोजकका अनुसार प्रतियोगितामार्फत खेलकुदलाई प्रोत्साहन गर्ने मात्र नभई स्व. जस थापा तामाङप्रति श्रद्धाञ्जलि अर्पण गर्न पनि कार्यक्रमलाई विशेष बनाइएको हो ।
को हुन् जस थापा तामाङ ?
रूबीभ्याली गाउँपालिका–१ निवासी जस थापा तामाङ नेपाली कांग्रेसका सक्रिय नेता तथा समाजसेवी थिए । उनी पार्टीको क्षेत्रीय प्रतिनिधि, प्रदेश क्षेत्रको उपसभापति तथा क्षेत्रीय कार्यसमितिका पूर्व कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेका थिए ।
पारिवारिक स्रोतका अनुसार गत बैशाख २८ गते राति ओछ्यानमै मृत अवस्थामा भेटिएका थिए । लामो समयदेखि छारे रोगबाट पीडित रहेका उनी असामयिक निधन भएपछि धादिङको राजनीतिक तथा सामाजिक क्षेत्रमा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन् ।
