आज जितिया पर्व धुमधामका साथ मनाइँदै

Avatar photo
Dhadingpost
भदौ ३०, २०८२

काठमाडौं । नेपालको तराई तथा मधेसी समुदायका महिलाले आज जितिया पर्व धुमधामका साथ मनाउँदै छन् । सन्तानको दीर्घायु, सुस्वास्थ्य र पारिवारिक सुखशान्तिको कामना गर्दै मनाइने यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म चल्ने गर्दछ ।

इतिहासकारहरूका अनुसार जितिया पर्व प्राचीन कालदेखि नै प्रचलनमा आएको मानिन्छ । यसको शुरुवात महाभारतकालीन पात्र ‘जितमाहन’सँग सम्बन्धित छ, जसलाई भगवान विष्णुको अवतार मानिन्छ । उनले कठिन तपस्याद्वारा विजय प्राप्त गरेपछि मातृशक्तिले सन्तानको कल्याणका लागि यो पर्वलाई आरम्भ गरेको विश्वास पाइन्छ । त्यसयता तराई–मधेसका महिलाले यसलाई सन्तान सुरक्षासँग जोडेर मनाउने परम्परा बसाल्दै आएका छन् ।

यस पर्वको दोस्रो दिन महिलाहरू बिहानै नुहाइधुवाइ गरी बेलको पात टिप्छन् र दिनभर निराहार ब्रत बस्छन् । बेलुकीपख खोलामा गएर पिनाले नुहाउने, पातमा पिना बगाउने र साँझ जितिया पर्वको कथा श्रवण गरेर मात्र खाने चलन छ ।

नवमीका दिन बिहानै खोलामा नुहाएर निराकार प्रतिमूर्ति बनाएर मासको गेडाले पूजा गर्ने परम्परा रहेको छ । त्यसपछि ब्रतालुले दही–चिउरा, केरा लगायत परिकार सेवन गर्दै ब्रत सम्पन्न गर्ने गर्छन् ।

विशेषगरी थारु तथा मधेसी समुदायमा प्रचलित यस पर्वले महिलाबीच आपसी सम्बन्ध प्रगाढ बनाउन र धार्मिक सांस्कृतिक एकतालाई मजबुत बनाउन योगदान दिएको संस्कृतिविद्हरूको भनाइ छ ।