धादिङ कारागारभित्र आगजनी, निषेधाज्ञा जारी

Avatar photo
Dhadingpost
भदौ २५, २०८२

धादिङ । धादिङ कारागारभित्र आगजनी गरी कारागार फुटाउने प्रयास गरेका छन् । कारागारभित्रबाट धुँवाको मुस्लो निस्किएपछि सुरक्षा निकाय उच्च सतर्क बनेको थियो ।

आगजनी नियन्त्रणका लागि सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र दमकल परिचालन गरि नियन्त्रणमा ल्याउनक्रम जारी छ । कैदीबन्दीहरूले विरोध स्वरूप कारागारभित्र आगजनी गरेको अनुमान गरिएको छ ।

यसैबीच, देशभर भइरहेको जेन–जी आन्दोलनका घटनालाई मध्यनजर गर्दै धादिङ जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी (सीडीओ) विजयराज सुवेदीले बुधबार जारी गरेको आदेशअनुसार जिल्लाभर ५ जनाभन्दा बढी भेला भई जुलुस, धर्ना, अनशन, घेराउ, सभा तथा प्रदर्शन जस्ता गतिविधि गर्न रोक लगाइएको छ । आदेश बुधवार (भाद्र २५) दिउँसो १२:०० बजेदेखि अर्को आदेश नआएसम्म लागू हुने जनाइएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा जारी आदेशमा हाल प्रदर्शनका कारण शान्ति–सुरक्षा भङ्ग हुने अवस्था देखिएको र व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने सम्भावना भएकाले निषेधाज्ञा लागू गरिएको उल्लेख छ । आदेश उल्लंघन गर्ने जोकोहीमाथि प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी समेत प्रमुख जिल्ला अधिकारी सुवेदीले दिएका छन् ।