सिम्लेमाः दोस्रो खुला नकआउट फुटबल प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
भदौ २३, २०८२

धादिङ । भाषा, धर्म, संस्कार–संस्कृतिको संरक्षण तथा गाउँ विकासमा योगदान पुर्‍याउँदै समुदायबीच एकता बलियो बनाउन स्थापना भएको जनजागरण तमु समाज सिम्लेले दोस्रो ६–ए–साइड खुला नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

विजया दशमी २०८२ को पावन अवसरमा आयोजना हुने प्रतियोगिता असोज १८ गतेदेखि २२ गतेसम्म नीलकण्ठ नगरपालिका–२ स्थित सिम्ले विद्यालय प्राङ्गणमा सञ्चालन हुने आयोजक समाजले जनाएको छ।

२०७७ सालमा “समग्र गाउँ विकास तथा भाषा, धर्म, संस्कार–संस्कृतिको संरक्षण र संवर्धन गर्न सिङ्गो गुरुङ समुदायको एकता आजको आवश्यकता” भन्ने मूल नारासहित स्थापना भएको समाजले असोज १८ गतेदेखि २२ गतेसम्म नीलकण्ठ नगरपालिका–२ स्थित सिम्ले विद्यालय प्राङ्गणमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

समाजका अध्यक्ष पूर्णबहादुर गुरुङले प्रतियोगिताले गाउँभित्र लुकेका खेलकुद प्रतिभा बाहिर ल्याउने, युवाहरूमाझ खेलप्रति उत्साह बढाउने र आपसी सद्भाव तथा एकता मजबुत बनाउन ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद ६० हजारसहित ट्रफि, प्रमाण–पत्र र मेडल प्राप्त गर्नेछन् भने द्वितीय हुने टोलीलाई नगद ३० हजारसहित ट्रफि, प्रमाण–पत्र र मेडल प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर तथा उच्च गोलकर्तालाई जनही १,५०० रुपैयाँसहित मेडल र प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक क्लब, समूह तथा विद्यालयहरूले असोज १७ गते बेलुकी ५ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने समाजले जानकारी दिएको छ । प्रतियोगिता बारे थप जानकारी पूर्ण बहादुर गुरुङ (अध्यक्ष) : ९८४०८१९०३४ र दुर गुरुङ (प्रमुख सल्लाहकार) : ९८१६१२८२०९ सँग लिन सकिने अक्बरबहादुर गुरुङले धादिङपोष्टलाई बताए ।

गत वर्ष सम्पन्न पहिलो संस्करणमा
बागेश्वरी युवा समाज क्लब जुरेथुम प्रथम हुँदै ५० हजार रुपैयाँ जित्न सफल भएको थियो भने आयोजक जनजागरण तमु समाज सिम्लेले द्वितीय हुँदै २५ हजार रुपैयाँ हात पारेको थियो।