विद्यार्थीको सिर्जनशीलता मञ्चमा : एड्भान्स पोएट आइडल–२०८२ सम्पन्न

Avatar photo
Dhadingpost
भदौ २०, २०८२

धादिङ । बुक फ्री फ्राइडे कार्यक्रमअन्तर्गत एड्भान्स एकेडेमीले “एड्भान्स पोएट आइडल–२०८२” को फाइनल चरण उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ । विद्यालयस्तरीय यस साहित्यिक प्रतिस्पर्धामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रह्यो ।

प्रारम्भिक चरणमा ८५ भन्दा बढी विद्यार्थीहरूले आफ्ना मौलिक कविता प्रस्तुत गरेका थिए । तिनै प्रतिभामध्ये उत्कृष्ट देखिएका प्रतिस्पर्धीहरू अन्तिम चरणसम्म पुगेका थिए ।

फाइनलमा बालबालिकाले आफ्ना उमेरअनुसारको सिर्जनशीलता प्रस्तुत गर्दा दर्शक दंग बनेका थिए । नतिजा अनुसार, कक्षा १–३ समूहबाट शितल मगर, कक्षा ४–५ समूहबाट मनसुन तामाङ, कक्षा ६–७ समूहबाट सुनिता शाक्य र कक्षा ८–१० समूहबाट गीता मगरले यस वर्षको ‘पोएट आइडल’ उपाधि जित्न सफल भएका थिए ।

कार्यक्रममा निर्णायकको भूमिकामा नीलकण्ठ क्याम्पसका प्राचार्य लोकनाथ रिजाल र नेपाली भाषा शिक्षिका अन्डिला श्रेष्ठ रहनुभएको थियो। उहाँहरूले विद्यार्थीहरूको आत्मविश्वास, प्रस्तुतिको शैली र सिर्जनात्मकतालाई उच्च मूल्याङ्कन गर्दै भविष्यमा अझ उत्कृष्ट बन्ने विश्वास व्यक्त गरेका थिए ।

नेपाली विभागको आयोजनामा र ईसीएको सक्रिय सहयोगमा सम्पन्न भएको यो प्रतियोगिताले विद्यार्थीहरूमा साहित्यिक चासो र सिर्जनात्मकता बढाउनुका साथै आत्मविश्वास अभिवृद्धिमा पनि टेवा पुर्‍याएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयले हरेक शुक्रबार बुक फ्री फ्राइडे अन्तरगत विभिन्न कार्यक्रमहरु गर्दै अाएकाे छ ।