
छोरी अनुपमा भर्खरै किशोरावस्थामा प्रवेश गरेकी छे । बाल्यकालमा शान्त स्वभावकी छोरी यो उमेर समूहमा प्रवेश गरेपछि निकै उत्सुक र जिज्ञासु बनेकी छे । घरका प्रत्येक सरसामानसँग उसको अनौठो सामीप्यता छ। कोठामा रहेका हरेक सामानबारे जस्तै भित्तामा इन्लार्ज गरेर राखिएका दुईवटा ठूला फोटोबारे पनि ऊ मसंग अनौठा प्रश्नहरू सोध्छे ।
हुन त देशमा गणतन्त्र घोषणा भएको पनि १६ वर्ष पुगिसक्यो । तर अझैसम्म उसको चित्त बुझ्दो उत्तर पाएकी छैन । त्यसैले होला -एके–४७ राइफल बोकेर खिचिएको बाबाको फोटो र उसलाई नपत्याउने अनुहारमा इन्लार्ज गरिएको बाबा–आमाको फोटोबारे आजकल खासै बोल्दिन ।
नसोधेको त होइन। यसअघि ऊ बालसुलभ आवाजमा त्यो बन्दुक बोकेर खिचिएको फोटो कसको हो भनेर सोध्थी । तर मैले दुई–चार पटक झर्केर उत्तर दिएपछि फेरि सोध्ने आँट गरिन ।
असरल्लै छन् विगतका यादहरू
कहाँबाट, कसरी पो टिपूँ खै ती भावनाहरूलाई । कुहिरोमा हराएको कागझैँ अलमल्ल पर्छु। मेरो स्कुले जीवनकी सहपाठी, अमेरिकन ग्रिनकार्डधारी पाल्मोसँग भर्खरै मात्र यो भर्चुअल दुनियाँमार्फत जोडिएको थिएँ । धेरैपटक फेसबुकमा उसको नाम सर्च गरेँ तर कहिल्यै देखाएन । पछि उसको एक आफन्तमार्फत थाहा पाएँ-उसको फेसबुक नाम अर्कै रहेछ। त्यसपछि उक्त नाम सर्च गरी रिक्वेस्ट पठाएँ, केहीबेरमै स्वीकृत भएको सूचना मोबाईलमा आयो । म हतारहतार गर्दै म्यासेज लेखेँ,
“हाई पाल्मो! आरामै हो नि ? चिन्छेस् मलाई ?”
उताबाट तुरुन्तै जवाफ आयो,
“आज मात्रै याद आयो तँलाई मेरो ? यत्रो वर्षसम्म कता हराइस्? काभ्रेको रोशी खोलासम्म पुगेँ तँलाई भेटिन्छ कि भनेर । म नेपाल आएकी छु। आज मेरो घरमा खाना खान आइज । हामी छुटेको कति वर्ष भयो, याद छ तँलाई ?”
उसको निम्तोलाई स्वीकार्दै मैले भनेँ,
“हुन्छ, म आउँछु। बरु तेरो घर पो कहाँ छ थाहा छैन मलाई। माछापोखरीमा लिन आइज।”
त्यसपछि हामीले मोबाइल नम्बर साटासाट गरेर कुराकानी समाप्त गर्यौँ ।
जब म उसको घर पुगेँ, रानीवनका चराचुरुङ्गी कतै “को हो? को हो?” त कतै “काफल पाक्यो” भन्दै गुञ्जिरहेका थिए । त्यो कर्णप्रिय ध्वनिले वातावरणलाई साँच्चै संगीतमय बनाएको थियो । लामो अमेरिकाबासपछि फर्किएकी भए पनि पाल्मोको स्वभाव भने उही थियो । हामी पटक–पटक स्कुले जीवनका यादमा हराइरहेका थियौँ । बिहानको पढाइमा ऐँसेलु घारीमा लुकाएर राखेको गहुँको रोटी केटाहरूले चोरेर खाएको स्मृति, बीस वर्षअघि ऊ मेरो घरमा बस्दा बिसमुरे फाँटमा दाँदेमा बसेर खेत हिलेको रोपाइँ, म उसको घरमा बस्दा गेर्खु फाँटको खेतमा डोकोमा मल बोकेको स्मृतिसम्म-सबै रोमाञ्चक अतीतमा हराउँदै गयौँ। समय बितेको पत्तै भएन ।
उससँगको भेटले एउटा अलग्गै आनन्दको अनुभूति दिलायो ।
पाल्मोले अमेरिका जानेबेला भनीकी थिई-
“म आफ्नो करिअर बनाउँछु, डाक्टर बनेर फर्केर दीनदुखीको सेवा गर्छु ।”
त्यो बेला म भने आफ्नै माटोमा अर्को यात्रा रोज्दै थिएँ-
“देशमा भएको अन्याय–अत्याचारलाई चुनौती दिन्छु, शासन परिवर्तन गर्छु, भुइँमान्छेलाई पनि राज्य हुनुको अनुभूति दिलाउँछु ।”
त्यही शपथसँगै म जनयुद्धमा होमिएको थिएँ ।
अहिले जब आफूलाई सम्झन्छु, कहिले रुन्चे कमाण्डरको छायाँमा डुब्छु, कहिले ओजस्वी सेनाको उज्यालोमा गर्व अनुभव गर्छु। हार र जितको त्यस यात्रामा कतिपय घाउ अझै ताजा छन्, तर त्यसैसँगै अडान पनि । त्यसैले होला-विगत रोज्दा आज पनि पश्चात्ताप छैन ।
मौनताको लामो क्षणपछि पाल्मो हल्का हाँसो छोड्दै बोली-
“छोरी त आनन्दकै फोटोकपी रहिछ है!”
म चुप बसें । शब्द जिब्रोमा अड्किएर आएनन् ।
तर ऊ त मन पढ्न सक्थी ।
“सरी यार,” उसले बिस्तारै भनिन्,
“मैले तेरो मन दुखाउन खोजेकी होइन । तेरो विगतप्रति मेरो गहिरो सम्मान छ ।
सोच त , यदि तँजस्तै हजारौँ हातहरूले बारुद समातेका भएनन् भने, यति छिट्टै क्रान्तिको चेतना कहाँ उभारिन्थ्यो ? गणतन्त्रको घोषणा पनि सम्भव हुने थिएन । नेताहरूले जनयुद्धमा जुन सपनाको झिल्को देखाएका थिए, त्यो अझै पुरा नभएको त छ । तर त्यो अपूरो यात्रामा तेरो के दोष ?
तँ त बहादुर छोरी होस् ।
कोक्रो हल्लाउने हातले संसार हल्लाइस् ।
मसला पिस्ने हातले बारुद पिसिस् ।
सामान्य किसानकी छोरी भएर पनि वर्गदुश्मनका किल्लामाथि धावा बोलिस् ।
युद्धका हजारौँ बम–गोलीसँग खेल्दै उभिइस् ।
जीवनले दिएका हरेक अग्निपरीक्षामा अब्बल सावित भयौ ।
देशको लागि प्रियजन गुमाइस्, आगोका लप्कासँगै नाच्दै विगतलाई आलिङ्गन गरिरह्यौ ।
सलाम छ तँलाई, साथी !”
उसले उठेर एकपटक सलाम गरिन् ।
त्यो सलाममा केवल सम्मान मात्र थिएन, मेरो विगतलाई पुष्टि गर्ने अव्यक्त श्रद्धा पनि थियो ।
म अझ गर्वले भरिएँ ।
पाल्मो फेरि बोली-
“मैले त आफ्ना युवा वर्षहरू परदेशमै खर्चेँ ।
तर तँले आफ्नै माटोमा योगदान गरिस् ।
सन्तुष्ट छैनस् भन्ने कुरा बुझ्छु म ।
तर, विश्वास गर-मैले तेरो अतीत कोट्याएर खाटा बसेको घाउ बल्झाउन खोजेकी होइन ।”
उसैले अमेरिकाबाट ल्याइदिएको गाउन लगाउँदा मेरी छोरी गुडियाझैँ सजिएकी थिई, सपनाभित्रको पात्रजस्तै। छोरीहरू अलिक पर बसेर आपसमा चिनजान गर्दै रमाइरहेका थिए। अचानक दिपकी छोरी हाम्रो नजिक आइ पाल्मोतिर हेर्दै सोधी-
“आन्टी ! को ‘दिप’ भन्नुभयो ?”
त्यो प्रश्नले मेरी छोरी पनि छट्पटिइन्। उनी तुरुन्तै मलाई कोट्याउँदै सोध्न लागिन्—
“मामु! को ‘आनन्द’ भन्नुभा आन्टीले?”
क्षणभर पाल्मो र म आँखा जुधाएर चुप लागेर बस्यौँ । प्रश्न त सरल थियो, तर उत्तरको भारीपनले वातावरणलाई नै मौन बनाइदियो । यसअघि कतिपटक छोरीलाई झूट बोलेर उम्किएकी म, अब भने लामो समयसम्म उसलाई भ्रममा राख्न सक्ने अवस्थामा थिइनँ। तर तत्कालका लागि भने विषयान्तर गर्दै टारिदिएँ ।
आमाहरूझैँ छोरीहरूबीच पनि दोस्ती फस्टायो। जीवनका आफ्ना–आफ्ना अनुभवहरू उनीहरूले पनि रमाउँदै साटासाट गरे । खानपान सकियो । दुई दशकपछि भएको हाम्रो पुनर्मिलनको खुशी सम्हाल्नै नसक्ने गरी पोखियो ।
गोधूलि सन्ध्याको क्षण-नागार्जुन डाँडामाथि सप्तरंगी इन्द्रेणी फैलिएको थियो । झयाउँकिरीका स्वरहरू वातावरणमा मिसिँदै थिए । बिदाको बेला आयो । अर्को पटक छिट्टै भेट्ने प्रणसहित हामी अलगियौँ ।
व्यक्तिगत जीवनका संघर्षका दिनमा त्यो भेट मलाई मल्हमपट्टीझैँ लाग्यो । पेटभरि खान नपाउँदा पनि उसलाई फोन गरेर म मन हल्का गर्थेँ । छोरी बिरामी भएर पैसाको जोहो नहुँदा पनि मनले उसलाई सम्झिन्थ्यो । अचम्म, कहिलेकाहीँ मैले मनमनै सम्झिएको दिनमै उसको फोन आउँथ्यो-
“तँलाई अप्ठ्यारो परेको छ भने भन, म पैसा पठाइदिन्छु ।”
मेरो मौनताको अर्थ उसले सहजै बुझ्थी । भोलिपल्टै पैसा पठाइदिन्थी । कयौँपटक उसको पैसाले छोरीको स्कुलको फि तिरेँ, कयौँपटक घरभाडा तिरेँ, कहिलेकाहीँ छोरीलाई नयाँ लुगा पनि किनिदिएँ ।
त्यसैबेला महसुस गरें-दुनियाँमा ‘सच्चा मित्रता’ भनेको यही रहेछ ।
पाल्मोसँगको बिदाइपछिको बाटोमा, त्रिशुलीको छालझैँ अनगिन्ती प्रश्नका अनुत्तरित छालहरू मानसपटलमा उर्लिए । बाटो काटेको पत्तै भएन ।
“मैले रोजेको बाटो सही हुँदाहुँदै पनि किन आज दुखी छु म ?
मैले देखेका सपनाहरू किन असरल्ल छन् आजकल ?
गाँस, बास, कपासको कुरा गर्ने म नै, आज किन त्यही कुराबाट बञ्चित छु ?
छोरीले भोक लाग्यो भन्छे, म किन पेटभरि खान दिन सक्दिनँ कहिलेकाहीँ ?
ज्यामी काम गरेर कति दिन धान्ला मेरो जीवन ?
यसको दीर्घकालीन उत्तर के छ ?”
यस्तै यस्तै हजारौँ प्रश्नहरूले पिरोल्दै कोठामा पुग्छु । ढोका खोल्छु, भित्तामा टाँसिएको ठूलो फ्रेममा सजिएको आनन्दको फोटोसँग आँखा जुध्छ । अनि एकाएक छोरीको अनुहार नियाल्छु-दुवै अनुहारहरू मेरी आँखामा मिसिन्छन् ।
छोरी फेरि सोध्छे-
“ममी, आनन्द भनेको को हो? अनि यो फोटोमा तपाईँ के हेर्दै हुनुहुन्छ ? मेरो बाबा खै? कहिले आउनुहुन्छ मलाई पाल्मो आन्टीले जस्तै राम्रो गाउन लिएर ?”
बालमनोविज्ञानमा घाउ नपारौँ भन्ने सोचले आजसम्म लुकाएर राखेको रहस्य अब भने लुकाउन सक्दिनँ। आज म बाध्य छु-छोरीलाई नै न्यायाधीश बनाएर आफ्ना पीडाहरूको वकालत गर्न ।
“अनुपमा !
तिमी मेरो पेटमै टुहुरी भएकी छोरी हौ ।
तिम्रो बाबालाई तिमी मेरो गर्भमा हुर्किँदैछौ भन्ने खबर सुनाउनै पाएकी थिइनँ म ।
तिम्रा बाबा र म दुवै जना जनमुक्ति सेनाका सदस्य थियौँ । गरीब र निमुखालाई सुखको दिन दिलाउन, वर्गदुश्मनलाई परास्त गर्न, निरंकुश शासनलाई अन्त्य गर्न तिम्रा बाबा कमाण्डर भएर मैदानमा उत्रिएका थिए । तर फर्केर कहिल्यै आएनन् ।
तिमी तीन महिनाकी थियौ मेरो गर्भमा, जब २०६० साल भदौ १८ गते सल्लाहिको नयाँ रोडमा तिम्रा बाबा सहिद हुनुभयो ।
हाम्रो सपना एउटै थियो-
यस देशमा निरंकुश शासनको अन्त्य होस् ।
प्रत्येक नागरिकले एक छाक पेटभरि खान पाओस् ।
शरीरमा एक जोर कपडा र टाउकोमा आफैँको छानो होस् ।
त्यही सपना बोकेर तिम्रा बाबाले ज्यान दिए ।”
मैले डराएको थिएँ-छोरीका प्रश्नहरूको उत्तर दिन सक्ला कि सक्दिनँ भनेर । तर ऊ त मेरो कल्पनाभन्दा भिन्न भएर प्रस्तुत भई ।
उसले शान्त स्वरमा भनिन्-
“त्यसो भए म जनमुक्ति सेना ‘दिप’ की छोरी हो ?”
यसपटक म ढाँटिनँ । उसको बाबाको बलिदानको कथा सुनाएँ । ऊ आज्ञाकारी भएर ध्यानपूर्वक सुन्न थाली र भनिन्-
“त्यही भएर पो मामु, तपाईं प्रत्येक रात सपनामा ऐठन भएर रुन्छु भन्ने लाग्थ्यो मलाई ।
मेरो गुरुआमाले भन्नुभएको थियो-देश र जनताको लागि ज्यानको पर्वाह नगरी लड्ने वीरलाई सहिद भन्छन् । नेपालमा जहानियाँ राणा शासनको विरुद्ध लड्ने चार सहिददेखि लिएर, विभिन्न आन्दोलन र युद्धमा बाबाजस्तै हजारौँ वीरको रगत र बलिदानले पो सम्भव भएको रहेछ त है, राजतन्त्रको अन्त्य !
सहीदहरू देशका गहना हुन् । हामीले आदर–सम्मान गर्नै पर्छ, है मामु, सहिदलाई ।”
उसले फेरि थपिन्-
“तर यतिका वर्षसम्म तपाईंले मलाई बाबाको बारेमा किन नभन्नुभएको त, ममी ?”
छोरीको त्यो कठिन जवाफको उत्तर दिन सकिनँ मैले । अनायासै भावनामा बहकिँदै छोरीलाई ग्वाम्लाङ अँगालोमा बेर्दै मात्र भनेँ–
“छोरी ! तिम्रा बाबा गरीब र दुःखी जनताको मनमा हुनुहुन्छ, झुपडीहरूमा हुनुहुन्छ । अँध्यारी रातको आकाशमा चम्किने ताराहरूमा, अनि तिम्रो आँगनमा रातको अन्धकार चिर्दै आउने जूनको ज्योतिमा कोहिनुरझैँ चम्किरहनु भएको छ तिम्रा बाबा ।´´
थाहा छैन, मैले भनेको कति बुझेकी हो छोरीले । तर बोल्दाबोल्दै म भने अकस्मात चिच्याउन पुगेँ–
“आनन्द ! आनन्द !! समानता खै ? मेरो क्रान्ति कहाँ हरायो आनन्द ? खै सपना खै ?´´
छोरीले झक्झक्याउँदै मलाई शान्त पार्दै भनी–
“ममी ! हजुर यसरी विचलित हुनुहुन्न। म छु नि। बाबा र हजुरका अधुरा सपना पूरा गर्न मैले के गर्नुपर्छ ? हजुरले सिकाउनुस्, म अघि बढ्छु।´´
यति भन्दै ऊ जुरुक्क उठी। त्यही जनमुक्ति सेनाको कम्ब्याट ड्रेस लगाएर ए.के. ४७ राइफल बोकेको बाबाको फोटोको अगाडि उभिँदै उसकै शैलीमा स्यालुट गरी भनी–
“मलाई गर्व छ सहिदकी छोरी हुनुमा । हजुरको अधुरो सपना पूरा गर्न म आजैबाट अघि बढ्छु, बाबा !´´
त्यसो भन्दै फेरि आएर मेरो काखमा बसि । म भने खाटमुनि राखिएको टिनको बाकसबाट आनन्दले हरेक साँझ लेख्ने गरेको डायरी निकालेर पाना–पाना पल्टाउँदै छोरीलाई देखाउन व्यस्त भएँ ।

