प्रदेश स्तरीय निबन्ध लेखनमा महेन्द्र बाराहीकी अन्जना शाक्य तृतीय

Avatar photo
Dhadingpost
भदौ १७, २०८२

धादिङ । प्रदेश स्तरीय निबन्ध लेखन प्रतियोगितामा नेत्रावती डवजोङ ५ कटुन्जे स्थित महेन्द्र बाराही माध्यमिक विद्यालयकी कक्षा १२ की विद्यार्थी अन्जना शाक्य तृतीय स्थान हासिल गर्न सफल भएकी छन् ।

सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालय, हेटौंडाले पुस्तकालय दिवस–२०८२ को अवसरमा “हाम्रो पुस्तकालय, हाम्रो भविष्य” भन्ने विषयमा आयोजना गरेको प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गर्दै प्रदेशस्तरमा धादिङको नाम उज्यालो पारेकी हुन् ।

उपलब्धिप्रति विद्यालयले विशेष कार्यक्रमको आयोजना गरी शाक्यलाई सम्मान गरेको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष केदारनाथ लामिछाने, शिक्षा विकास तथा समन्वय इकाईअन्तर्गत IBSE–JICA प्रोजेक्टका जिल्ला संयोजक नवराज पाठक र प्रधानाध्यापक धुर्वराज घिमिरेले क्रमशः नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरेका थिए ।

यस अवसरमा बोल्दै प्रधानाध्यापक घिमिरेले विद्यार्थीहरूलाई यस किसिमका प्रतिस्पर्धात्मक गतिविधिमा निरन्तर सहभागी हुन प्रोत्साहित गर्दै विद्यालयको गौरव बढाएकोमा अन्जनालाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । साथै प्रतियोगितामा आवश्यक सहजीकरणमा सहयोग पुर्‍याउने शिक्षिका रिता कुमारी श्रेष्ठसहित सम्पूर्ण शिक्षक–शिक्षिकाप्रति विद्यालयले विशेष धन्यवाद ज्ञापन गरेको छ ।

प्रतियोगितामा विनिता मिजार जनक मावि काभ्रेपलाञ्चोक प्रथम र सुन्तली वाईवा जनज्योती मावि हेटौंडा द्वितीय भएका थिए ।