गजुरी उपाध्यक्ष विसुरालको विज्ञप्ती : बजेटमा अन्तर र विशेष गाउँसभा माग

Avatar photo
Dhadingpost
भदौ १६, २०८२

धादिङ । गजुरी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विसुरालले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट पुस्तकमा प्रस्तुत रकम र गाउँसभामा पारित रकमबीच फरक देखिएको भन्दै आपत्ति जनाएकी छन् ।

मिति २०८२ असार १० गते सम्पन्न १६ औं गाउँसभाबाट ६७ करोड २२ लाख ९२ हजार रुपैयाँको बजेट पारित भए पनि, बजेट पुस्तक छाप्ने क्रममा करिब ३ करोड ७ लाख रुपैयाँ थप गरी ७० करोड २९ लाख २ हजार ८ सय बनाइएको विसुरालको दाबी छ । उनका अनुसार, गाउँसभा सदस्यलाई जानकारी नै नदिई अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको सहमतिमा बजेट रकम परिवर्तन गरिएको हो ।

उपाध्यक्ष विसुरालले गाउँसभामा प्रस्तुत तथ्याङ्क परिवर्तन गर्नु कार्यपालिका बैठक वा कुनै व्यक्ति विशेषको अधिकार नभएको उल्लेख गर्दै यो कदमलाई “गाउँसभा सदस्यको अपमान” भएको बताएकी छन् । साथै, आफ्नै सहमति बिना बजेट पुस्तकमा हस्ताक्षर प्रयोग गरी शुभकामना सन्देश प्रकाशित गरिएको आरोप पनि उनले लगाएकी छन् ।

“राजनीतिक आस्थाका कारण महिला जनप्रतिनिधिलाई अपमान र असहयोग गर्ने प्रवृत्ति बढिरहेको छ, जुन आम महिला समुदाय र गजुरीवासी जनताप्रति अन्याय हो,” विसुरालले विज्ञप्तिमा उल्लेख गरेकी छन् ।

उनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार कानुनी प्रक्रिया मार्फत विशेष गाउँसभा बोलाएर जनताको अपेक्षा अनुरूपको बजेट पुनःतर्जुमा गरी छलफल गर्ने वातावरण बनाउन सम्पूर्ण गाउँसभा सदस्यलाई सहयोग गर्न आग्रह गरेकी छन् ।