बागमती प्रदेशस्तरीय निबन्ध प्रतियोगिता हुँदै

Avatar photo
Dhadingpost
भदौ १६, २०८२

धादिङ । ५९ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा विकास निर्देशनालय, बागमती प्रदेशले माध्यमिक तह (कक्षा ९–१२) स्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

‘डिजीटल युगमा साक्षरताको प्रवर्द्धन’ शीर्षकमा आधारित निबन्ध प्रतियोगितामा प्रदेशभित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी सहभागी हुन पाउनेछन् । प्रत्येक विद्यालयबाट एक जना विद्यार्थी मात्र सहभागी हुने व्यवस्था गरिएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीले ५०० देखि १००० शब्दभित्रको हस्तलिखित निबन्ध लेखी विद्यालयको सिफारिससहित शिक्षा विकास निर्देशनालयको इमेल edd.bagamati@gmail.com मा पठाउनुपर्नेछ । निबन्ध पठाउने अन्तिम मिति आगामी भदौ १८ गते साँझ ५ बजेसम्म तोकिएको छ ।

निर्देशनालयले प्राप्त निबन्धहरूको मूल्याङ्कन गर्न विज्ञसमेत समावेश भएको समिति गठन गर्नेछ। उक्त समितिको सिफारिसमा आधारित रहेर उत्कृष्ट निबन्ध चयन गरिने छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूको नतिजा आगामी भदौ २३ गते अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन सार्वजनिक गरिनेछ ।

पुरस्कार वितरण समारोहको समय र स्थान भने पछि सार्वजनिक गरिने निर्देशनालयले जनाएको छ ।