धादिङको जनजागृती माध्यमिक विद्यालयको २५ वर्ष पुरा, रजत जयन्ती उत्सव सम्पन्न

Avatar photo
Dhadingpost
भदौ १६, २०८२

धादिङ । धादिङको थाक्रे गाउँपालिका ६ स्थित जनजागृती माध्यमिक विद्यालयले स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा आफ्नो रजत जयन्ती कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार विद्यालयको प्राङ्गणमा आयोजित समारोहमा विद्यार्थी, शिक्षक, पूर्व विद्यालय व्यवस्थापन समिति, र विद्यालयलाई जग्गा दान गर्ने समुदायका सदस्यहरू उपस्थित थिए । प्रधानाध्यापक लावण प्रसाद फुयलले विद्यालयको स्थापना र यसअघिका उपलब्धिहरूको चर्चा गर्दै सामाजिक योगदानका लागि सम्मान प्रदान गरे ।

समारोहमा विद्यालयको आर्थिक अवस्था, प्रगति विवरण र शैक्षिक उपलब्धिहरू प्रस्तुत गरियो । साथै, राष्ट्रिय तथा स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुती दिएका थिए भने विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेर कार्यक्रमको मनोरञ्जनात्मक पक्षलाई समृद्ध पारे ।

कार्यक्रमको दौरान उत्कृष्ट शिक्षक, उत्तीर्ण विद्यार्थी, र जिल्ला तथा पालिका स्तरका प्रतियोगितामा सफलता हासिल गर्ने विद्यार्थीहरूलाई नगर पुरस्कार र सम्मानपत्र प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा बहादुर थापा (राजेन्द्र)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्री एवं प्रदेश सांसद शालिकराम जम्कटेल मुख्य अतिथि रहेका थिए ।

कार्यक्रममा थाक्रेका गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष यन्त्र बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साल, शिक्षा शाखा अधिकृत दुर्गादेवी खड्का, विद्यालयका पूर्व अध्यक्ष तथा सल्लाहकार गोकर्ण रुपाखेती, विभिन्न संघ–संस्था र राजनीतिक दलका प्रतिनिधिहरू, शिक्षक, विद्यार्थी र अभिभावकहरूको उपस्थिती उल्लेखनीय थियो ।

त्यसैगरी, रजत जयन्तीका अवसरमा आयोजित रक्तदान कार्यक्रममा १२ महिला र २७ पुरुष गरी जम्मा ३९ जनाले रक्तदान गरी मानवसेवामा योगदान पुर्‍याएका छन् । विद्यालयले “सिप, गुणस्तरीय शिक्षा र प्रविधिमैत्री शिक्षण” भन्ने मूल नारासँगै आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रवर्धन गर्ने प्रतिबद्धता दोहोर्याएको छ । तस्वीरः राजाराम ढंगोल