
धादिङ । नेपाली कांग्रेस सिद्धलेक गाउँपालिका कार्यसमिति सभापति रामशरण गिरिले गाउँपालिका अध्यक्ष परशुराम खतिवडा माथि भएको हातपात प्रयासको घोर भत्सर्ना गरेका छन्।
गिरिले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार भदौ ९ गते राति करिब ८:३० बजे सिद्धलेक–१ कालिदहस्थित नवराज श्रेष्ठको घरमा छलफल चलिरहेको बेला, आफूलाई ‘टोले डन’का रूपमा परिचित गराउने कृष्ण गुरुङसहितको समूहले घरको ढोका फुटाएर जबर्जस्ती प्रवेश गरी अध्यक्ष खतिवडामाथि अभद्र व्यवहार, अमर्यादित शब्द प्रयोग र गुण्डागर्दी शैलीमा हातपात प्रयास गरेको जनाइएको छ।
विज्ञप्तिमा दोषीलाई आवश्यक कानूनी कारबाही गर्न प्रशासनसँग माग गरिएको छ। साथै, आगामी दिनमा स्थानीय सरकार प्रमुखमाथि यस्ता गतिविधि दोहोरिए नेपाली कांग्रेस सिद्धलेक गाउँपालिका प्रतिकारमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइएको छ।
यद्यपि घटना भदौ ९ गते घटेपनि कांग्रेस सिद्धलेकले विज्ञप्ति भने बिहीबार मात्रै सार्वजनिक गरेको हो।

