
लिस्बन, पोर्चुगल । गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) पोर्चुगलले नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजको अवसर पारेर विशेष सांगीतिक कार्यक्रमसहित तीज उत्सव सम्पन्न गरेको छ ।
कार्यक्रम एनआरएनएका केन्द्रीय सल्लाहकार तथा पोर्चुगलका संस्थापक अध्यक्ष पूर्णबहादुर हमालको प्रमुख आतिथ्यतामा र युरोप क्षेत्रीय उपसंयोजक माधव पोखरेलको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।
शुभकामना मन्तव्य राख्दै जनसम्पर्क समितिका अध्यक्ष युवराज पन्थीले हालै निर्वाचन सम्पन्न गरेपछि एनआरएनए पोर्चुगलले छोटो अवधिमा उल्लेखनीय सामाजिक गतिविधिहरू सम्पन्न गरेको भन्दै धन्यवाद व्यक्त गरे । विशिष्ट अतिथि माधव पोखरेलले भने यो तीज विशेष कार्यक्रमले नेपाली महिलाहरूलाई एकत्रित गर्ने मात्र नभई नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्न मद्दत पुर्याएको बताए ।
संस्थापक अध्यक्ष एवं प्रमुख अतिथि पूर्णबहादुर हमालले पछिल्लो निर्वाचनपश्चात् संस्थाले आगलागी पीडितलाई सहयोग, कलाकार र खेलाडीलाई सम्मान, सामाजिक कार्यहरूमा संलग्नता देखाएको उल्लेख गर्दै, संगठनमा देखिएका आन्तरिक मतभेद समाधान गर्दै भविष्यमा एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले विभाजनकारी सोचले सामाजिक सेवा सम्भव नहुने बताउँदै, आगामी दिनमा संस्थाले सामाजिक सद्भाव, भ्रातृत्व र भगिनीत्वलाई बलियो बनाउन भूमिका निर्वाह गर्ने दृढता प्रकट गरे ।
सांगीतिक कार्यक्रममा गायिका कला पंगेनी, लोकदोहोरी आइडल २०८१ का विजेता सुमन खड्का, र हाल युरोपमा सक्रिय रिता केसी लगायत कलाकारहरूले आकर्षक प्रस्तुति दिएका थिए। कार्यक्रम पश्चात सहभागीहरूका लागि रात्री भोजको समेत व्यवस्था गरिएको थियो ।
एनआरएनए पोर्चुगलकी अध्यक्ष दीपा काफ्लेले संस्थाले आपतविपतमा परेकाहरूलाई सहयोग गर्दै आएको स्मरण गर्दै, संस्थालाई एक ढिक्का बनाउन आफूले आवश्यक त्याग र योगदान गर्न तयार रहेको बताइन् । उनले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि, संघसंस्था, पत्रकार, व्यवसायी र समाजसेवीप्रति आभार प्रकट गरिन् ।
कार्यक्रममा पोर्चुगलमा सक्रिय रहेका वैचारिक संगठन, जिल्ला समाज, जातीय तथा क्षेत्रीय संघसंस्था, पत्रकार, व्यवसायी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको महासचिव गोविन्द बुढाथोकीले धादिङपोष्टलाई बताए ।

