
धादिङ । निजामती सेवा दिवस–२०८२ को अवसरमा धादिङमा विद्यालय स्तरीय कविता प्रतियोगिता आयोजना गरिने भएको छ । कर्मचारी मिलन केन्द्र, नीलकण्ठ–६, धादिङले आयोजना गर्ने उक्त प्रतियोगितामा जिल्लाभरका विद्यार्थीलाई सहभागी हुन आह्वान गरिएको छ ।
प्रतियोगिताको कविता क्षेत्र “निजामती सेवा र युवा” सम्बन्धी रहनेछ। इच्छुक विद्यार्थीहरूले अधिकतम २०० शब्दभित्रको कविता २०८२ भाद्र १८ गतेसम्म श्री शिक्षा विकास तथा समन्वय इकाई, धादिङमा वा इमेल (dhadingdeo22@gmail.com) मार्फत पठाउन सक्नेछन् ।
कविता गद्य वा पद्य जुनसुकै शैलीमा लेख्न सकिने छ भने मौलिक, सिर्जनात्मक र अन्यत्र प्रस्तुत नगरिएको मात्र मान्य हुने आयोजकले जनाएका छन् । कविता नेपाली भाषामा युनिकोडमा लेखिएको हुनुपर्नेछ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई २०८२ भाद्र २२ गते पुरस्कार वितरण गर्ने गरी सार्वजनिक कार्यक्रमको आयोजना गरिने भएको छ ।
आयोजकका अनुसार, प्रतियोगिताबाट उत्कृष्ट ठहरिएका कविताहरूलाई मूल्याङ्कन समितिले छनोट गर्नेछ । (समाचारमा मिति अन्यथा हुन गएकाेमा सच्याईएकाे छ-सं.)
