
धादिङ । नीलकण्ठ नगरपालिकामा हाल प्रमुख प्रशासनिक अधिकृतको जिम्मेवारी सम्हालेका हरिदत्त कंडेल प्रशासनिक सेवा क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । २०५६ सालमा सरकारी सेवा आरम्भ गरेका कंडेल २०६३ सालदेखि मुख्य कार्यकारी भूमिकामा रहेर देशका विभिन्न कार्यालयमा महत्वपूर्ण जिम्मेवारी निभाउँदै आएका अनुभवी अफिसर हुन् ।
काठेखोला गाउँपालिका, वडा नं. १, बागलुङ निवासी कंडेलले आफ्नो सेवाकालमा उपसचिवको रूपमा जिल्ला समन्वय अधिकारी, अछाममा कार्य गरेपछि विभिन्न नगरपालिका र मन्त्रालयमा अनुभव बटुलेका छन् । उनले तुल्सिपुर, बागलुङ र बेनी नगरपालिका (म्याग्दी) मा कार्यकारी अधिकृतको रूपमा प्रशासनिक नेतृत्व दिँदै स्थानीय विकास र सेवा प्रवाहमा सुधार ल्याउन सक्रिय भूमिका निर्वाह गरेका छन् ।
गृह मन्त्रालयमा करिब ३ वर्ष सेवा दिँदै प्रशासनिक प्रक्रिया र नीति कार्यान्वयनमा अनुभव हासिल गरेपछि, उनले कृषि मन्त्रालय, बागमती प्रदेशको प्रशासन महाशाखा प्रमुखको रूपमा एक वर्ष नेतृत्व गर्दै क्षेत्रीय योजना र समन्वयमा योगदान पुर्याए ।
त्यसपछि कंडेल माडी नगरपालिका, चितवन, देवदह नगरपालिका, रुपन्देही, धुनीबेशी नगरपालिका, र बागलुङ नगरपालिका मा प्रमुख प्रशासनिक अधिकृतका रूपमा सेवाप्रदर्शन गर्दै जनता सँग प्रत्यक्ष जोडिएर सेवा प्रवाहमा सुधार र निखार ल्याउन सफल बने । यसैगरी, मकवानपुर जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा कार्यवाहक प्रमुख आप्रवासन अधिकारीको जिम्मेवारी समेत उनले सम्हालेका छन् ।
हाल, अनुभव र दक्ष नेतृत्वको बलमा उनले नीलकण्ठ नगरपालिकामा प्रमुख प्रशासनिक अधिकृतको रूपमा जिम्मेवारी सम्हालेका छन् । उनका विविध प्रशासनिक भूमिकाहरूले उनलाई नेपालकै एक अनुभवी र विश्वासपात्र अफिसरको रूपमा चिनाएको छ ।
नीलकण्ठमा उनको प्रशासनिक क्षमता र नेतृत्वले स्थानीय तहको संस्थागत क्षमता मूल्याङ्कन (LISA) मा देशकै उत्कृष्ट नगरपालिका बनेको यस नगरपालिकाको रेकर्डलाई निरन्तरता दिन सहयोग पुर्याउने विश्वास गरिएको छ। उनी बागलुङबाट एक साता अघि मात्र सरुवा भएर आएका हुन् ।

