
काठमाडौं । महानगरीय प्रहरीको टोलीले गोंगबु पवित्रनगरस्थित एक गेस्टहाउसमा छापा मार्दा ५० ग्राम अवैध लागुऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ सिद्धलेक गाउँपालिका–३ घर भई हाल काठमाडौं बालाजु बस्ने २८ वर्षीय सूर्यबहादुर थापा, दाङ घोराही उपमहानगरपालिका–१० का ३२ वर्षीय निरोज कुँवर (हाल तारकेश्वर मनमैजु बस्ने) र भक्तपुर सूर्यविनायक नगरपालिका–६ घर भई सामाखुशी बस्ने ३० वर्षीय सुभाष मिश्र रहेका छन्।
गोंगबु प्रहरी प्रभागको टोलीले सोमबार रम्भादेवी गेस्ट हाउसको २०३ नम्बर कोठामा तलासी गर्ने क्रममा लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानमा उनीहरू लागूऔषध कारोबारमा संलग्न रहेको देखिएको प्रहरीले जनाएको छ।
हाल पक्राउ परेकालाई थप अनुसन्धान तथा कानूनी कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ।
