
दोहा (कतार) — धादिङ सेवा समाज कतारले हरितालिका विशेष कार्यक्रम सम्पन्न गरेको छ। “धादिङ सेवा समाज कतारको मूल मर्म, मानवीय सेवा नै प्रमुख धर्म” भन्ने नारासहित २००१ मा स्थापना भएको उक्त समाजले २०८२ भाद्र ९ गते (२५ अगस्ट २०२५) का दिन मुन्ताज नजिकै रहेको गोर्खाली रेस्टुरेन्ट सभाहालमा कार्यक्रम आयोजना गरेको हो ।
समाजका अध्यक्ष आयुष घलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सल्लाहकार मेनुका खतिवडा भण्डारी प्रमुख अतिथि, द्वितीय उपाध्यक्ष उषा रिमाल संयोजक तथा बागमती प्रदेश समन्वय परिषद् कतारकी महिला उपाध्यक्ष ममता राणाभाट विशेष अतिथि रहेकी थिइन् ।
कार्यक्रममा अतिथिहरूले तीज पर्वको सामाजिक–सांस्कृतिक महत्व, प्रवासमा सामूहिक एकताको आवश्यकता र धादिङ सेवा समाज कतारको भूमिकाबारे शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यस अवसरमा कतारमा लामो समय सक्रिय रहेर नेपाल फर्किन लागेका सदस्य कृष्ण अधिकारीलाई प्रमाणपत्रसहित सम्मानपूर्वक विदाई गरिएको थियो ।
महासचिव राम हरि श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रम धादिङे मात्र नभई गैर–धादिङ समुदायको समेत उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको समाजले जनाएको छ ।
