
धादिङ । तीजको अवसरमा एडभान्स एकेडेमीले एकल नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीबीच भएको प्रतियोगितामा ८५ भन्दा बढी विद्यार्थीले सहभागिता जनाए । साथै कक्षा ८, ९ र १० का विद्यार्थीहरूले आकर्षक समूह नृत्य प्रस्तुत गरी कार्यक्रममा थप रौनकता ल्याए ।
कार्यक्रमको अध्यक्षता प्रिन्सिपल भीमबहादुर श्रेष्ठले गरेका थिए भने, सञ्चालन ज्ञानी माया तामाङले गरेकी थिईन् । निर्णायकमा ड्रीम वेभ डान्स एकेडेमीका कोरियोग्राफर तथा एडभान्स एकेडेमीका नृत्य शिक्षक रीना गुरुङ र प्रि–प्राइमरी इन्चार्ज तथा नृत्य शिक्षिका एलिशा गुरुङ रहेका थिए ।

विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पदक विद्यालयका अध्यक्ष अर्जुनकुमार श्रेष्ठ गोर्खाली, प्रिन्सिपल, उप–प्रिन्सिपल र अतिथिहरूद्वारा प्रदान गरिएको थियो । हरेक वर्ष फरक–फरक नृत्य प्रतियोगिता आयोजना गर्दै आएको एडभान्स एकेडेमीले यस किसिमका गतिविधिबाट विद्यार्थीको लुकेका प्रतिभा उजागर हुने विश्वास व्यक्त गरेको छ ।

