भोली तीज, आज दर खाने

Avatar photo
Dhadingpost
भदौ ९, २०८२

धादिङ । हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज भोली पर्छ । तीजको अघिल्लो दिन दर खाने चलनअनुसार आज महिलाहरूले दर खाने गरेका छन् ।

तीजका दिन व्रत बस्नुपर्ने भएकाले अघिल्लो दिन अर्थात् दर खाने दिन छोरी, दिदी–बहिनीलाई माईत बोलाएर मिठा–मिठा परिकार खुवाउने चलन छ । दरमा प्रायः मासु, मिठाई, खीर, फलफूललगायत परिकार खाने परम्परा छ ।

तीजलाई महिलाहरूले हरितालिका व्रत भनेर पनि लिन्छन् । यो व्रत महिलाहरूले आफ्नो परिवारको सुख, शान्ति र दीर्घायुका लागि भगवान् शिवलाई आराधना गर्दै बस्ने गरेका छन् ।

तीज विशेष गरी छोरी चेलीको पर्वका रूपमा मानिन्छ । यस अवसरमा छोरीहरू माईत गएर दर खाई, नयाँ लुगा र गहना लगाई, गीत गाएर, नाचेर रमाइलो गर्ने गर्छन् ।