धादिङका विनोद खतिवडा कराँते महासंघको उपाध्यक्षमा चयन

Avatar photo
Dhadingpost
भदौ ८, २०८२

धादिङ । नेशनल किक बक्सिङ एसोसिसियन नेपाल धादिङका अध्यक्षसमेत रहेका गल्छी २ बेलिनटार निवासी विनोद खतिवडा अखिल नेपाल खेलकुद महासंघअन्तर्गतको कराँते महासंघको प्रथम उपाध्यक्षमा चयन भएका छन्।

शनिबार सम्पन्न भएको महासंघको सम्मेलनले हिक्मत थपलियाको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उक्त कार्यसमितिमा खतिवडाले प्रथम उपाध्यक्षको जिम्मेवारी पाएका हुन् ।

को हुन् विनोद खतिवडा
खेलजीवनलाई समर्पित खतिवडाले कराँते प्रशिक्षकको भूमिकामा रहँदै अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्दै आएका छन् । उनले भारतमा २०१९ मा आयोजित ४औं अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता, थाइल्यान्ड ओपन कराँते प्रतियोगिता २०२३, हङकङ एसियाली कराँते प्रतियोगिता २०१६ र बंगलादेशको ढाकामा २०१२ मा सम्पन्न कराँते प्रतियोगितामा प्रशिक्षकका रूपमा योगदान दिएका छन् । कराँतेमा ब्ल्याक बेल्ट चौथो डान प्राप्त खतिवडा स्वयं पनि दक्ष खेलाडी हुन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हात पार्दै उनले धादिङ मात्र नभई सम्पूर्ण देशलाई गौरवान्वित बनाएका छन् । कराँतेसँगै उनी किक बक्सिङका खेलाडी र प्रशिक्षकसमेत हुन् । हाल किक बक्सिङ संघ धादिङका अध्यक्षका रूपमा नेतृत्व सम्हालिरहेका खतिवडा खेलकुदलाई सशक्त बनाउन निरन्तर सक्रिय छन् ।