देशकै उत्कृष्ट घोषणा भए पनि नीलकण्ठका स्थानीय रुष्ट

Avatar photo
Dhadingpost
भदौ ८, २०८२

धादिङ । स्थानीय तहको संस्थागत क्षमता मूल्याङ्कनमा धादिङको नीलकण्ठ नगरपालिका यस वर्ष पनि देशकै उत्कृष्ट बनेको छ । गत वर्ष ९२.५० अंक प्राप्त गरी प्रथम बनेको नीलकण्ठले यसपटक ९३.५ अंकसहित अझै सुधार गर्दै देशकै उत्कृष्टको उपाधि दोहोर्‍याएको हो ।

तर, देशकै उत्कृष्ट बने पनि स्थानीयवासी भने नगरपालिकाको सेवाप्रदाय र जनताप्रतिको उत्तरदायित्वप्रति असन्तुष्ट देखिएका छन् । उनीहरूले दैनिक समस्या समाधानमा कमजोरी रहेको भन्दै पुरस्कार र वास्तविकताबीच अन्तर भएको टिप्पणी गरेका छन्।

स्थानीय विष्णु ढुङ्गानाका अनुसार “कागजी प्रक्रिया र प्रशासनिक कार्यप्रणालीका कारण मात्र उत्कृष्ट घोषणा गरिएको हो, तर भौगोलिक क्षेत्रमा आएर हेर्दा उत्कृष्ट भन्नुपर्ने आधारहरू छैनन् ।”

यस्तै, स्थानीय राम ढकाल भन्छन्, “जनतालाई दिइएको सेवा वितरण र वास्तविक अवस्था मूल्याङ्कनको नतिजासँग मेल खाँदैन। खानेपानीमा हाहाकार छ-एक बाल्टी पानी लिन जाँदा एक मुठी माटो आउँछ, त्यो पनि नियमित छैन । फोहोर व्यवस्थापन उस्तै छ । शिक्षा क्षेत्रमा चरम राजनीतिकरण, कृषि, पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जना सबै कागजमै सीमित छन् ।”

नीलकण्ठ–१२ का वडा अध्यक्ष राजकुमार भण्डारीका अनुसार स्वमूल्याङ्कनको आधार नबुझी आलोचना गर्नु उचित हुँदैन । उनले सामाजिक सञ्जालका कमेन्टका आधारमा मात्रै काम मूल्याङ्कन गर्न गाह्रो हुने बताए ।

भण्डारी भन्छन्, “विकास विदेशमा जस्तै खोजिन्छ तर यहाँ पूरा गर्न सजिलो छैन । सकिने केही काम नगरेको हाम्रो कमजोरी हो भन्ने मान्छु । तर स्वशासन मूल्याङ्कनको सूचीकृत क्षेत्रमा नीलकण्ठ नगरपालिकाले बजेटदेखि सुशासनसम्म केही क्षेत्रमा काम गर्ने प्रयास गरेको छ । छुट्याइएका वार्षिक बजेटमध्ये ९०–९५ प्रतिशत काम सम्पन्न भएका छन् । यही काम स्वतन्त्रहरूले गरेका भए ‘वाह–वाह’ हुने थियो।”

उनले सडक निर्माण र खानेपानीजस्ता क्षेत्रमा समस्या रहेको स्वीकार गर्दै भने, “यी चुनौती पुरा गर्न नपाउनु बजेट अभावकै कारण हो । कमजोरी स्वीकार्छु, तर पदमा बसेर हेर्दा अहिलेको मूल्याङ्कनअनुसार काठमाडौँ महानगर नै अब्बल देखिनुपर्ने हो, त्यहाँ पनि ३०–४० प्रतिशत बजेट मात्र खर्च हुन्छ । नीलकण्ठले भौगोलिक अवस्थाअनुसार उपलब्ध बजेटमै देखिने खालका काम गरेको छ ।”

स्थानीय माधव गुरुङका अनुसार धादिङबेसीको सिरान बजारदेखि पुछारसम्म फन्को मार्दा मात्रै पनि विकासको वास्तविकता देख्न सकिन्छ। सडकहरूमा खाल्डाखुल्डी, असमान स्तरोन्नति र बिग्रिएको पूर्वाधार देखिन्छ। बजार व्यवस्थापन गर्न अझैसम्म बसपार्क निर्माण हुन सकेको छैन, जसका कारण सडकमै गाडी पार्क गर्नुपर्ने बाध्यता छ।

उनले थपे, “एउटा वडाबाट अर्को वडासम्म पुग्न बर्खामा पानी रोकिएला भनेर पर्खिनुपर्ने अवस्था हुन्छ। खानेपानीको हकमा सुगम भनिएका वडामै पनि धाराबाट लेदोमिश्रित पानी आउँछ। मोटर नलगाए कतिपय घरमा पानी पुग्दैन।”

गुरुङका अनुसार कोरिडोर सडक प्रारम्भमा केही चहलपहल देखिए पनि अहिले अलपत्र छ। वडा नं. ३ मा सजावटका लागि राखिएका गमलादानीहरू अहिले कबाडीमा परिणत भएका छन्। स्वास्थ्यका दृष्टिले प्रदेश अस्पताल बाहेक नगर स्वास्थ्य केन्द्रमा न चिकित्सक छन्, न पूर्वाधार।

शिक्षा क्षेत्रमा पनि अवस्था दयनीय रहेको उनको भनाइ छ। उनले भने, “नीलकण्ठ बालमन्दिरबाहेक अन्य सार्वजनिक विद्यालयहरूको स्थिति राम्रो छैन । बालमन्दिरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूको पृष्ठभूमि हेर्दा उनीहरू प्रायः निजी विद्यालयबाट आएका देखिन्छन्।” गुरुङ भन्छन्, “मेयरका दुई कार्यकाल नगरवासीको लागि खासै सम्झनायोग्य छैनन्। उत्कृष्टको उपाधि पाए पनि त्यो कागजमा मात्र देखिन्छ। वास्तविकता भने फरक छ।”