
धादिङ । स्थानीय तहको संस्थागत क्षमता मूल्याङ्कन (LISA) मा धादिङको नीलकण्ठ नगरपालिका यस वर्ष पनि उत्कृष्ट ठहरिएको छ । सुशासन, पारदर्शिता, शिक्षा, स्वास्थ्य र विकासजस्ता सूचकमा प्रगति गर्दै नीलकण्ठले देशभरका नगरपालिकामध्ये शीर्ष स्थान सुरक्षित गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार गत वर्ष ९२.५० अंक ल्याएर प्रथम भएको नीलकण्ठले यो वर्ष अझ सुधार गर्दै ९३.५ अंक प्राप्त गर्दै देशकै पहिलो बनेको छ ।
मन्त्रालयले सेवा प्रवाह, नागरिकमैत्री नीतिको कार्यान्वयन, सामाजिक उत्तरदायित्व र पारदर्शितालाई प्रमुख आधार मानेर मूल्याङ्कन गरेको हो । निरन्तरको नागरिक सहकार्य, स्थानीय नेतृत्वको सक्रियता र प्रशासनिक संयन्त्रको तत्परताले नीलकण्ठलाई लगातार उत्कृष्ट स्थानमा उभ्याएको बताइएको छ ।
यस वर्षको नतिजासँगै मन्त्रालयले नीलकण्ठ नगरपालिकालाई विशेष सम्मान समेत गरेको छ । सम्मान कार्यक्रममा नीलकण्ठबाट मेयर भीम ढुङ्गाना, उप–मेयर दिपक विश्वकर्मा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल सरुवा) पुरुषोत्तम सुवेदी, प्रवक्ता प्रकाश श्रेष्ठ लगायतको सहभागिता थियो ।


