
धादिङ । नेकपा एमाले जिल्ला कमिटी धादिङको बैठक यस समाचार तयार पार्दा सम्म धादिङबेसी स्थित मदनआश्रित भवनमा जारी छ ।
जिल्ला अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा जारी बैठकमा स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज राजन भट्टराई प्रमुख अतिथि, केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज डा. खेम लोहनी विशेष अतिथि, केन्द्रीय कमिटी सदस्य महिला नेत्री जानुका सिम्खडा, बागमती प्रदेश कमिटी सदस्य कृष्ण सिल्वाल, केन्द्रीय सल्लाहकार परिषद सदस्य रामप्रसाद अधिकारी लगायतको आतिथ्यता रहेको छ ।
भाद्र २०–२२ गते सम्म ललितपुरको गोदावरी हलमा एमालेको विधान अधिवेशन हुँदैछ । उक्त विधान अधिवेशनमा विधानमा समावेश गर्नुपर्ने र संशोधन गर्नुपर्ने विषयमा जिल्लाले दिने सुझावका सम्बन्धमा केन्द्रीत रही बैठक बसेको ध्रुव अधिकारीले बताए ।
राष्ट्रको सम्मानित व्यक्तिलाई संविधानले नै पार्टी राजनीति गर्न नपाउने प्रष्ट व्यवस्था गर्नुपर्ने र दोश्रो तहका नेताले नेतृत्व लिने गरी अगाडि बढ्नु पर्ने र त्यसो गर्दा कोही पनि विवादित बन्नु नपर्ने कुरा बैठकमा उठेको बैठकमा सहभागी एक सदस्यले धादिङपोष्टलाई बताए ।
यसै बैठकमा जिल्ला कमिटीका सदस्यहरू, पालिका कमिटीका अध्यक्षहरू र जनवार्गीय अध्यक्षहरूको समेत सहभागिता रहेको बताइएको छ।

