
धादिङ । बेनीघाट रोराङ गाउँपालिकाले अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा आयोजना गरिने वक्तृत्वकला प्रतियोगितामा सहभागी पठाउनका लागि भाद्र ९ गते पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
सूचना जारी गर्दै, गाउँपालिकाभित्र सञ्चालित विद्यालय वा क्याम्पसमा अध्ययनरत ३० वर्ष उमेर समूहभित्रका इच्छुक विद्यार्थीहरूले मिति २०८२ साल भाद्र ६ गते कार्यालय समयभित्र सम्पर्क गर्न बेनीघाट रोराङ गाउँपालिकाले आव्हान गरेको छ ।
विद्यालय शिक्षा पछिको मेरो सपना शीर्षकमा सञ्चालन हुने खुला वक्तृत्वकला प्रतियोगितामा छनोट भएका विद्यार्थीहरूले अन्तर्राष्ट्रिय धादिङ समाजद्वारा आयोजना गरिने जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा भाग लिन पाउने छन् ।
अन्तर्राष्ट्रिय धादिङ समाजले जिल्लाभरिका युवाको सिर्जनशील अभिव्यक्ति विकास, स्थानीय पहिचानको प्रवर्द्धन, पर्यटन सम्भावनाको प्रचार तथा आपसी सम्बन्ध सुदृढीकरण गर्ने उद्देश्यले जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ।
प्रतियोगिता दुई चरणमा सम्पन्न हुनेछ। पहिलो चरणमा धादिङका प्रत्येक स्थानीय तहबाट एक जना छात्र र एक जना छात्रा प्रतिनिधि छनोट गरिने छ। दोस्रो तथा अन्तिम चरणमा पाँच जना उत्कृष्ट वक्ताहरूलाई पुरस्कृत गरिने अध्यक्ष राजन खकुरालले बताए।
उक्त प्रतियोगिताका विजेताहरूलाई यसप्रकार नगद पुरस्कार प्रदान गरिने जनाइएको छ:
- प्रथम पुरस्कार: रु ५०,०००
- द्वितीय पुरस्कार: रु ३०,०००
- तृतीय पुरस्कार: रु २०,०००
- चौथो पुरस्कार: रु १०,०००
- पाँचौं पुरस्कार: रु ५,०००


