
लिस्बन (पोर्चुगल) । नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलले नेपाली सांगीतिक आकाशकी चर्चित गायिका रचना रिमाललाई एक समारोहबीच सम्मान गरेको छ । विभिन्न देशमा सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने क्रममा गायिका रिमाल युरोप भ्रमणमा रहेकी छिन् । सोही क्रममा लिस्बनमा आयोजित कार्यक्रममा मञ्चले उनलाई सम्मान गरेको हो ।
कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्च युरोपका सचिव हरिशचन्द्र पोखरेल, सदस्य युवराज खनाल, माओवादी केन्द्र युरोप कमिटीका सदस्य नवराज शर्मा, पोर्चुगलका निवर्तमान वरिष्ठ उपाध्यक्ष रेशम बस्नेत, कास्की समाजका अध्यक्ष विशाल आचार्य, ठकुरी समाज पोर्चुगलका सल्लाहकार सज्जन हमाल, नेपाल बुद्धिजीवी संगठन मधेस प्रदेश उपाध्यक्ष नृपेश गिरी, पोर्चुगल कार्यसमितिका सचिव राजन गिरी, सह–कोषाध्यक्ष शम्भु उप्रेती लगायत सदस्यहरूको उपस्थिति थियो ।
कार्यक्रममा खादा ओढाएर, नगदसहित सम्मानपत्र प्रदान गर्दै गायिका रचना रिमाललाई नेपाली भाषा तथा साहित्यको सम्बर्द्धनमा गीत–संगीतमार्फत निरन्तर सक्रिय रहन आग्रह गर्दै, नेपाली सांगीतिक आकाशमा २००० भन्दा बढी सुपरहिट गीत गाएर कम उमेरमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली समुदायलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको योगदानप्रति आभार र कृतज्ञता व्यक्त गरिएको एनआरएनए पोर्चुगलका महासचिव गोविन्द बुढाथोकीले धादिङपोष्टलाई बताए ।
सम्मान ग्रहण गर्दै गायिका रचना रिमालले युरोप भ्रमणकै क्रममा यसरी सम्मान पाउनु आफूसँगै नेपाली संगीतको पनि सम्मान भएको अनुभूति भएको बताउँदै आयोजक संस्था र उपस्थित सबैप्रति आभार प्रकट गरिन् ।

