एनएमएमा धादिङका माधव धमलाको उम्मेदवारी

Avatar photo
Dhadingpost
भदौ १, २०८२

धादिङ । नेपाल पर्वतारोहण संघ (NMA) को अध्यक्ष पदका उम्मेदवार फुर गेल्जे शेर्पाको नेतृत्वमा बनेको समूहबाट धादिङका माधवकुमार धमलाले सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।

विश्व कीर्तिमानी आरोही, पर्वतारोहण व्यवसायी तथा पर्यटन विज्ञहरूलाई समेटेर बनेको यस समूहबाट उम्मेदवारी दिने धादिङका उनी एक्ला हुन् । निर्वाचन भदौ ७ गते हुने कार्यतालिका सार्वजनिक गरिएको छ।

धमला धादिङको नीलकण्ठ नगरपालिका–११, ज्यामरुङ निवासी हुन् । सन् २००१ देखि पर्वतीय पर्यटन क्षेत्रमा सक्रिय उनी गोरेटो ट्रेक्स एण्ड एक्सपिडिसन प्रा. लि. का सञ्चालक हुन् ।

अध्यक्ष पदका उम्मेदवार फुर गेल्जे शेर्पाले योजना सार्वजनिक गर्दै संघको कल्याणकारी कोष पुनर्स्थापना गर्न व्यक्तिगत रूपमा २० लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् ।

यस समूहले सार्वजनिक गरेको ३० बुँदे प्रतिबद्धतामा पदयात्रा/चुली आरोहण अनुमति प्रणाली सुधार, मनाङ माउन्टेनियरिङ स्कूल र पोखरा अन्तर्राष्ट्रिय माउन्टेन म्युजियमको स्तरोन्नति, अतिरिक्त आयआर्जनका स्रोत विकास, अन्तर्राष्ट्रिय अल्पाइन क्लबहरूसँग सहकार्य, जोखिम व्यवस्थापन युनिट स्थापना, फोहोर व्यवस्थापन, पर्वतीय पर्यटन विश्वविद्यालय स्थापना, दुर्गम पदयात्रा मार्गमा गेष्टहाउस वा पर्यटन सेल्टर निर्माण, कीर्तिमानी आरोहीलाई विशेष भीआइपी सुविधा, जलवायु परिवर्तन अनुकूलन तथा उद्धार पूर्वाधार विकास जस्ता एजेन्डा समावेश छन् ।

निर्वाचनमा अर्को प्यानलबाट अध्यक्ष पदका दावेदार धादिङकै कुलबहादुर गुरुङ रहेका छन् । कुल प्यानललाई एमाले तथा केही कांग्रेस निकट पर्वतारोहण व्यवसायीहरूको साथ रहेको देखिन्छ भने फुर गेल्जे शेर्पा समूहलाई स्वतन्त्र आरोही, पर्वतारोहण पेशाकर्मी तथा पर्वतारोहण क्षेत्रका प्रबुद्ध समूहहरूको समर्थन रहेको देखिन्छ।

x