धादिङका महान त्यागी अनेसास डेनमार्कको कविता प्रतियोगितामा प्रथम

Avatar photo
Dhadingpost
भदौ १, २०८२

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), डेनमार्क च्याप्टरले आयोजना गरेको कविता प्रतियोगिता–२०२५ मा धादिङको बेनीघाट रोराङ गाउँपालिकाका कवि महान त्यागीको कविता “छाउगोठकी कामाख्या” प्रथम हुन सफल भएको छ ।

प्रतियोगितामा धनगढी, कैलालीका कवि प्रेमप्रकाश सापकोटाको कविता “प्रेरणा”ले द्वितीय स्थान हासिल गरेको छ भने गान्तोक, सिक्किमका कवि गोपाल निशोधीको कविता “बोनसाई मेरा रहरहरू” तृतीय स्थानमा परेको छ ।

नेपाली भाषा, साहित्य र काव्यका विज्ञ कवि प्रतीक ढकाल, वरिष्ठ साहित्यकार प्रभा भट्टराई र वरिष्ठ साहित्यकार लालगोपाल सुवेदी सम्मिलित निर्णायक मण्डलद्वारा मूल्याङ्कन गरिएको प्रतियोगितामा जम्मा ४६ कविता प्राप्त भएका थिए ।

यसअघि असारमा नेकपा (एमाले) को जनसंगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, गण्डकी प्रदेशले आयोजना गरेको खुला कविता प्रतियोगितामा पनि महान त्यागीको कविता प्रथम भएको थियो ।

विजयी कवि–कवयित्रीहरूले पुरस्कारस्वरूप पुस्तक, प्रमाणपत्र तथा एक थान हाते उपहार (गिफ्ट ह्याम्पर) प्राप्त गर्ने अध्यक्ष पूर्ण बस्नेतले जानकारी दिए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), डेनमार्क च्याप्टरले आयोजना गरेको कविता प्रतियोगिता-२०२५ मा प्रथम भएको महान त्यागिको कविता जस्ताको तस्तैः

कविताः छाउगोठकी कामाख्या

एउटा बिहान,
मेरो भित्रैबाट फूट्यो-एक नदी,
रातो, न्यानो र जीवनको भाषा बोल्ने नदी ।
तर गाउँको आँखामा त्यो नदी
पापको पोखरी थियो ।

मष्टो रिसाउने भयले
मलाई थुनियो-
ईश्वर हराएको अँध्यारो गोठमा ।

मेरो शरीर त्यो मन्दिर थियो,
जहाँ सृष्टिको दीप बालिएको थियो,
तर उनीहरूले मलाई ईश्वरहीन मानें ।

घामले डाँडाको पर्खाल नाघेर
अन्धकार फैलाइरहँदा
चन्द्रमाले पनि मुहार लुकायो,
शीर निहुराएर धरती
मेरो अगाडि ठिङ्ग उभिइन् ।

मेरो आत्माले सोध्यो-
“म स्त्री भएर जन्मेँ, कि अपराध ?”

घरको भित्तामा टाँसिएको देवीको तस्वीरले
मलाई हेरेर चुप लाग्यो,
सायद उसलाई पनि लाज लागिरहेको थियो-
आफ्नै प्रतिविम्बलाई अपवित्र भनिएकोमा ।

तर म जान्दछु-
मभित्र बगेको नदी
श्राप होइन,
शक्तिको सुरुवात हो ।
सिर्जनाको बीज मन्त्र हो ।

मेरै कोखबाट जन्मिन्छन्
सम्भावनाका गीतहरू ।

म अब यो मौनताको पिँजडा तोड्छु ।
गोठसँगै भत्काउँछु कुप्रथाको कालकोठरी पनि ।
नयाँ बिहानको उज्यालो बोकेर
विद्रोहको राँको बाल्छु ।
स्वतन्त्रताको बिगुल फुक्छु ।

म सर्वपूज्य
कामाख्या देवी हुँ ।
मेरो रगत-
अपराध होइन,
यो त पृथ्वीको श्वास हो,
जीवनको लय हो,
सृष्टिको पहिलो स्वर हो ।