
वेष्टमिनिष्टर । अमेरिकाको पश्चिमी भागमा पर्ने कोलोराडो (Colorado) राज्यमा बसोबास गर्दै आएका नेपाली महिलाहरूले आउँदै गरेको तीज पर्वलाई केन्द्रित गरी दर खाने कार्यक्रम गरेका छन् ।
प्रवासमा रहेका महिला दिदीबहिनीहरूलाई एक्लोपनको महसुस हुन नदिन र सबै दिदीबहिनी एकै ठाउँमा भई सुख-दुख साटासाट गर्दै माईतीको झल्को मेटाउन दर खाने कार्यक्रम आयोजना गरिएको सिस्टर्स ग्रुप की अध्यक्ष धन पौडेलले बताइन्।
कोलोराडोस्थित वेष्टमिनिष्टर सिटीमा आइतबार साँझ ५ बजेदेखि राति १० बजेसम्म भएको उक्त कार्यक्रममा नेपाली कलाकारिताको क्षेत्रमा ६ दशकभन्दा बढी निरन्तर सक्रिय रहिएकी वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुषालको समेत सहभागिता थियो। भुषालले प्रवासमा रहेर पनि हाम्रो भाषा र संस्कृतिको जगेर्ना गर्न जम्मा हुनुभएका यति धेरै दिदीबहिनीबीच उपस्थित हुन पाउँदा अत्यन्त खुशी लागेको बताउँदै सबैलाई तीजको शुभकामना दिएकी थिइन्।
सिस्टर्स ग्रुप सन् २०१७ देखि कोलोराडोका दिदीबहिनीहरूलाई संगठित गरी विभिन्न सामाजिक र सांस्कृतिक कार्यक्रमका लागि आवश्यकता अनुसार आर्थिक सहयोग संकलन र हस्तान्तरण गर्दै महिला हकहितका सामाजिक कार्यमा निरन्तर अग्रसर रहँदै आएको संस्था हो। तस्वीरः नातिबाबु भट्ट




