प्रेम कथा: आकृती

Avatar photo
Dhadingpost
साउन २४, २०८२

पूर्वी इलाम घुमेको सम्भवत: तेस्रो पटक थियो। त्यसपटक भारतको मिरिक घुम्नेसम्मको योजना थियो । हामी मिरिक गयौँ। त्यतिबेला गोरखल्याण्डको आन्दोलन कतै न कतै चलिरहेकै थियो। भित्ताभरि गोरखल्याण्डको समर्थनमा टाँसिएका पोस्टरहरू देखिन्थे।

यो करिब २०११ तिरको कुरा हो। हामी काठमाडौंदेखि इटहरी हुँदै मिरिक पुगेका थियौँ। साँझ त्यहाँ नेपाली ब्याण्ड ‘मङ्गोलियन हार्ट’ को कन्सर्ट रहेछ। आइडल र फ्यानको सम्बन्ध भन्ने कुरा त्यही देखियो नेपाली गायक राजु लामाका फ्यानहरू रोइरहेका, चिच्याइरहेका, उफ्रिरहेका, झगडा गरिरहेका, केही त बेहोससमेत भएका देखेँ। त्यही बेला बुझें-संगीतको कुनै सिमाना हुँदैन रहेछ, विशेषगरी मिरिकको त्यो खाल्डोमा।

हामी एक रात मिरिक बस्यौँ। साथीहरूलाई त्यो दार्जिलिङजस्तो खासै रमाइलो लागेन। बिहान सम्भवत: ११ बजेतिर हामी एउटा भारतीय बलेरो गाडीमा फर्कियौँ। गाडीमा नेपाली गीत बजिरहेको थियो र अघिल्लो साँझको कन्सर्टबारे चर्चा चलिरहेको थियो। धेरै मान्छे भेला भएका रहेछन्, तर कसैले भन्यो-आन्दोलनका कारण मान्छे अलिक कम आएका होलान्। म अचम्मित भएँ-त्यसभन्दा धेरै आउन त कति पर्थ्यो र ? किनकि मिरिकको तालपारिको मैदान भरिभराउ थियो, बाटोमा हिँड्ने ठाउँ र बस्ने होटलहरू सबै भरिएका थिए।

हाम्रो नेपाली बोल्ने लवजले त्यहाँका मानिसहरूले चिनेछन्। त्यहाँका नेपाली भाषी भारतीयहरूका कुनै न कुनै आफन्त परिवार नेपालमै रहेका रहेछन्। धेरैले काठमाडौंसम्म आएको वा पोखरा घुम्ने रहर भएको कुरा सुनाउँथे। हामीसँगको संवादमा साथीहरूले इलाम पुगेपछि पूर्वी नेपाल घुमेको, र मिरिक पुगेपछि पश्चिम बंगाल घुमेझैँ कुरा गर्थे। तर त्यो कुरा मेरो लागि खास अर्थ राख्दैनथ्यो-किनकि फिक्कलमा बसेर फोटो खिच्नु मात्र इलाम घुम्नु होइन। हामी मुख्य इलाम बजारसम्म पुगेका पनि थिएनौँ। त्यो बेला फिक्कलमा आजजस्तो धेरै केही थिएन-चिया बारीमा छिरेर फोटो खिच्नु, अनि फर्किँदा सानो बजारमा इलामको चिनो किन्ने बाहेक साधारण होटलहरू मात्र थिए।

एउटा विशेष कुरा भनेको- त्यो फिक्कल वरको सानो बजारबाट मैले बुबालाई एक पाउ लामपाते सुर्ती किनेर लगेको थिएँ, बुबालाई निकै मन परेको थियो।

मिरिकबाट नागबेली बाटो हुँदै उकालो लाग्दा चिया बगानभित्रको घुमाउरो बाटो निकै रमाइलो थियो। आधा बाटो कटिसक्दा साथीहरूको मोबाइलमा फोन बज्न थाल्यो। “भारतमा नेपाली सिममा फोन आयो” भनेर मजाक पनि गरियो। ड्राइभरले भने-“हाम्रो त दुईवटा सिम हो, नेपाल र भारतको।” यति भन्दै-नवन्दै गाडी बिस्तारै घुम्दै पशुपतिनगर आइपुग्यो। एकछिन पनि नरोकी हामी आफ्नो गाडी लिएर फर्कियौँ।

फिक्कलको डाँडोमा मात्र अलि रोक्यौँ। त्यतिबेला फिक्कल तल-माथि अहिले जस्तो पार्कहरू थिएनन्, बस्नका लागि काटेजहरू पनि थिएनन्, श्रीअन्तु मात्र थियो। रिसोर्टहरू थिएनन्। इलामको चिया बगानभित्र छिर्दा मानब मल कुल्चिन्छ कि भन्ने पिर हुन्थ्यो, तर अहिले त्यो छैन।

फिक्कल नजिकैको फोटोसुट स्टेसनमा गाडी रोकेर एकछिनमा हुस्सु र चिसो हावा महशुस गर्यौँ-एकदम आनन्दको मौसम थियो। पूर्वी मधेशका दाजुभाइलाई इलाम स्वर्गको टुक्राझैँ लाग्छ। हाम्रो काम भनेको चिया बारीमा फोटो खिच्नु बाहेक अरू केही थिएन।

तेही बेला हो-काठमाण्डौको कुनै एउटा मेडिकल कलेजकी विद्यार्थी, अहिलेकी डाक्टर आकृतिलाई भेटेको। म आफ्नो समुदायको साझा संगठनमा निकै सक्रिय हुने समय थियो त्यो बेला। त्यही बेला देखि उनले मलाई नोटिस गरेकी रहिछिन्, मैले पनि देखिरहेको तर बोलचाल नभएको एउटी केटी, फिक्कलमा डाक्टर आकृतिले “सर, नमस्कार” भन्नुभएको। सामान्य रूपमा चिनजान भएको मान्छे अचानक पूर्वी पहाडको फिक्कलमा भेटिँदा अलि अलमल परेँ, तर एउटै जिल्लावासी भएपछि कुरा गर्न र नजिक हुन समय लागेन।

उहाँहरू मेडिकल कलेजबाट भ्रमणमा आउनु भएको रहेछ। सँगै फोटो खिच्यौँ, मोबाइल नम्बर साटासाट गर्यौँ। केही समयपछि हामी आ–आफ्नै गाडी चढेर झापा झर्ने तयारी भयौँ। हामी सानो गाडीमा भएकाले सजिलो र छिटो भयो। निस्कियौँ हामी, आ–आफ्नै तरिकाले जनकपुर, चितवन घुम्दै दुई दिनपछि काठमाडौं टेक्यौँ। फेरि आ–आफ्नै कामधन्दा, यो शहरको व्यस्तता त सबैलाई थाहै छ।

हप्ता हुँदै महिना पनि-दुई, तीन-बितिसकेका थिए। एक जना निकट चिनजानको साथीले धनकुटाबाट केही कोशेली पठाएको र लिनको लागि कहिले हात्तीवन त कहिले काठमाडौं मलसम्म जानुपर्ने अवस्था थियो। म त्यही कामले काठमाडौं मल पुगेको थिएँ। मोटरसाइकल पार्किङ गरेर बसेको करिब पाँच–सात मिनेटपछि, कतै सुनेको जस्तो आवाज, चिनेको जस्तो मान्छे-
“नमस्ते सर,” भनिन्।
यसरी हेरेँ-ईलामको फिक्कलमा भेटिएकी डाक्टर आकृती रहेछिन्।

मः ए, नमस्ते…
आकृती: आराम हुनुहुन्छ?
मः आराम छु, तपाईंलाई?
आकृती: म पनि आराम छु। के थियो र सर, एक्लै बसिराख्नु भएको छ?
मः साथी भेट्नु थियो। तपाईं?
आकृती: म केही सामान लिन आएको, बनेपा अस्पतालबाट साथीले पठाएको।

यस्तै–यस्तै सामान्य कुरामै आकृति जीको बसबाट सामान आयो, सम्भवत: पुस्तकहरू जस्तो देखिन्थे। मैले सोधेँ-के सामान थियो भनेर। सामान हातमा झुण्ड्याउँदै आकृति जीले भन्नुभयो—
“झण्डै पाँच महिना बितेछ है सर, हामी ईलाममा भेटेको।”
मः “यह होनी, झण्डै बितेछ नि।”
आकृतिः “फोन नम्बर साटेको झैँ लागेको थियो, हजुरको कल पनि आएन, मलाई कल गर्न आट पनि आएन,” फिस्स हाँस्दै।
मः “तपाईं डाक्टर पढिरहेकी मान्छे, फोन गर्‍यो भने ‘डिस्टर्ब गर्‍यो’ भन्छिन् कि भनेर मात्रै सम्झेको छु!”

वास्तवमा मैले खासै ख्याल गरेको थिइनँ, त्यसका कारणहरू अलगै छन्।
आकृती “हस्त, सर, म घर लाग्छु, भेट्दै गरौँलानी।”
मः “कफी पिउँ है।”
आकृती “नाइँ सर, हतारमा छु, कुनै दिन मौका मिले सँगै खान खाउँला, किन कफी मात्रै…,” अनि अलि लामो हाँसो।

म मनमनै सोच्दै थिएँ-किन मभन्दा धेरै खुलेर बोल्दै छिन् आकृति? त्यति कैमा उनी टेम्पो चढेर आफ्नो गन्तव्यतर्फ लागिन्। त्यति हुँदासम्म मैले कहाँ बस्छिन् भनेर पनि सोधिनँ, अलिक खल्लो पनि लाग्यो। म एकछिन त्यही बसेँ-काठमाडौं मलको सिँढीमा।

धनकुट्टाबाट पठाएको पार्सल लिएर एक जना भाइ फोन ठड्याउँदै आइ पुगे, छातीमा ‘सिलाम साक्मा’ टाँसेर। पक्कै पूर्वेली केटा, लज पनि खट्टी पूर्वेली। मलाई चिन्ने बित्तिकै,
“लु है काकाको साथीलाई काकानै पो भनौँ कि सर पो भनौँ नि, सेवा?”
मैले हात मिलाउँदै भनेँ,
“जे सजिलो हुन्छ, तेही भन्नुस्, सेवा।”
लु नी उसो भा मैले काकानै पो भनुङ झै लाग्योनी ।
… तेतीकैमा “लु है काका, उता काकाले लोकल भालेको सेकुवा जस्तै बनाइ पठाएको छ। आगोमा सेकाएर, अनि ‘तिते’ र बेल्काको दुखेको ज्यानलाई आराम दिने पाङदुरको रस पनि छ, लु काका।” भन्दै दिदै हाँस्यो, बेश्करी पुरै पूर्व धनकुट्टा बास आउने गरी हाँस्यो।
मनी हाँसें,
एकैछिन पछि भतीज फर्कियो।
लु काका म फर्कन्छु, कोटेश्वरमा दुई बजेबाट अन्तरवार्ता छ लु, साउदी जाँउँकी भनेर।

म: “यहाँ हस्, भतीज, शुभकामना पास हुनु।”
भतीज: “हौ नि काका, भयनी ठिकै नभयनी ठिकै। राजा रानी ताल छेउ हुर्केकोले साउदीको गर्मी सहन गाह्रो छ रे त काका (पूर्वेली लजमा)। कसो हो काकात पुगेर आयो भाको पो नि।”
म: मन्द हाँस्दै,
“बानी पर्छ सके जाउँ बेलाइमा कमाउनै पो हो त।”
भतीजले दुई हात जोडेर बिदा भयो, भक्तपुरको बस चढेर।

म, पार्किङबाट मोटरसाइकल निकालेर डेरातिर फर्कें।
“पार्सल पाएँ” भनेर साथीलाई सुनाएँ। तितेको विशेषता धेरै सुनाएँ-खाडीमा, खने कुरा भने कै, तिते र रौसी… यावत।

यतीकैमा फेरि समय बित्यो। म आफ्नै काममा ब्यस्त भएँ, होलाकि दोडधूपमा जिन्दगी बित्नेनै भयो यस्तै यस्तै त छ दैनीकी।
यतीकै समय बित्दै गयो।

ग्रान्डी अस्पतालभन्दा अलि माथि तिर टोखा जाने तिर कोठा भाडामा बस्ने साथी बेलसिरीस मगर र म: कसो-कसो करिव महिना दिनपछि मैले फोन गर्ने आँट गरेँ-डक्टर पढ्दै गरेकी आकृतीलाई। झमझम पानी परेको बेला सायद बिदाको दिन थियो, सम्भवत शनिबार।

म: “हेलो डक्टर, नमस्ते।”
आकृती: “नमस्ते… डक्टर भै सकेको छैन, समय लाग्छ पढ्दै छु, मान्य ज्यु।”

म राजनीतिमा रहेको थाहा पाएपछि आकृतीले मुटु फुट्ने गरी पहिलो पटक डाइलग हाने-यो पहिलो फोन संवाद पनि हो। हेर्दा इनोसेन्ट देखिने मान्छेको शब्दमा दम हुन्छ रैछ।

म: “म झन् काहाको मान्य हुनु है, भर्खरै राजनीतिमा छु, कपल फुलनै पर्छ ती चीजहरू प्राप्त गर्नको लागि, र फेरी भाग्यमा के पो छ कुन्नी। अनि अरु सामान्य संवाद संगै।”

आकृती: “ल म त प्रायः कलेज क्लास र प्राक्टिकलमा ब्यस्त भै रहन्छु। एउटा शनिबार पनि यस्तै हुन्छ, मेरो त आजलाइ यस्तै भयो फुर्सद भयो, अगस्ट ९ मा राष्ट्रिय सभागृहमा भेटौँ, म पनि समय मिलाएर आउँछु।”

म: “मैले सोधेँ, आदिवासी दिवस हो?”
आकृती: “हो, अन्तर्राष्ट्रिय।”

हामी भेट्ने पक्का भयौँ। अति सामान्य रुपमा हामी त्यहाँ भेट्यौँ, दिनको करिब १ बजे तिर, करिब तीन घण्टा हल भित्रको भाषण सुनेर निस्कने सल्लाह भयो। हामी सिधा बाइक घुमाएर भद्रकाली हुँदै न्युरोड आयौँ। सिद्धार्थ बैंक अगाडि पुरानो घरको पहिलो तलामा एउटा कफी सप थियो (अहिले घर छ, कफी सप छैन)। बाटो छेउ मोटरसाइकल रोकेर कफी सप छिरेँ। त्यो हाम्रो तेस्रो भेट थियो करिब छ महिनाको अन्तरालमा।

गोरा मान्छे, सामान्य लगाएको सेतो कुर्ता, कालो फ्रेममा पावर वाला चस्मा, इनोसेन्ट भनेर तेती धेरै पनि होइन तर मान्छे गम्भीर नै हो। म जस्तो बोलक्कड अरुलाई बोल्न पालो नदिने त बिल्कुल हुँदैन।

हो, तेही दिन हो हामीले अलि राम्रोसँग एक अर्कालाई नजिकबाट हेरेको, आँखा–आँखा जुधाएर। हामीले कफीको साथ केही खाजा माग्यौँ। त्यसरी गफ गर्नका लागि बसेको पहिलो पल्ट हो, अरु कुरात के हुनु, पारिवारिक मात्रै थियो।

मैले मेरो पारिवारिक कुरा सबै भनेँ, आकृतीले पनि। हामी पालै–संग तपाई भनेर सम्बोधन गर्थ्यौँ, आकृतीकै चाहना अनुसार मैले। तिमी भन्ने अनुमति पाएँ, अलिक सहज पनि भयो। मेरो पारिवारिक–राजनीतिक अवस्था बारे सबै सुनाएँ, उनको पारिवारिक र पढाइको बारेमा मैले सुनेँ।

ठूलो आत्मा, बल, साहस, परिवारको ठूलो लगानीले एमबिबिएस तेस्रो वर्ष पढ्दैछिन्, नत्र हामी जस्तो सामान्य परिवार सामान्य अथवा एउटा बुबाको कमाइ र खेतीकिसानमा भर पर्दा पढ्न निकै कठिन छ। धन्न दिदी-भेनाजु यही हुनुहुन्छ, खाना र बस्नको लागि समस्या छैन, बाँकी चलिरहेको छ। पढाइ सजिलो छैन। राम्रोसँग सुत्न नपाएको तीन वर्ष हुन लागेको छ।

यस्तै यस्तै दुःख-शुखको कुराबीच डेढ घण्टा समय बित्यो। मेरो कुराले अलिक डिसेप्वाइन्ट भयो होला, क्याहो तपाईको जीवनको कथा र यात्रा पनि अनौठो छ।
“नआत्तिनुस् है, नेता बन्नुपर्छ, मान्य बन्नुपर्छ, मन्त्री बन्नुपर्छ, अझ स्वास्थ्य मन्त्री। यत्रो दुःख गरेर यत्तीत हुनै पर्छ, नत्र सारा गुमाएर बन्दुक बोकेको के फाइदा त?”

म त एमबिबिएस सकाएर कर्णाली वा सुदूरपश्चिम रोज्ने हो, दुई वर्ष सेवाको लागि अनि त्यसपछि बल्ल करियरको सवालमा सोचौँला। अब के गर्ने, कहाँ जाने भनेर।

यस्तै हाँसिक मजाक चलिरह्यो दुई घण्टा। डेरा फर्किने निधो गर्यौँ। मलाई त केही थिएन, चलिरहेको छ जीवन। त्यो दिन थाहा भयो उनी पाटन प्रयाग पोखरीतिर बस्दैछिन्। म यहाँ ग्राण्डीभन्दा पाँच सय मिटर मास्तिर बस्दथेँ। काठमाडौं मलसम्म संगै आयौँ, त्यसपछि उनी लोकल बस चढिन्। बाइ भन्दै। संगै बिदा मागेँ, हिडे गन्तव्यतिर, फेरी भेट्ने वाचा साथ।

म लाजिम्पाटको एउटा दात्री संस्थामा काम गर्थेँ, परिवार पाल्न धान्न सक्थे। आकृतीसँग दिनमा दुई पटक फोन हुने सहमति थियो, बिहान कुनै बेला र साँझ कुनै बेला उनी आफैले कल गर्ने। यस्तो किनकी उनी पढाइमा केन्द्रित हुनुपर्ने र अनावश्यक कुरामा मैले फोन गरेर नबिथोली दिने।

समय थियो आवश्यक कत्तिको थाहा थिएन। सहमति भन्दा बाहिर गएर दिनमा ३/४ पटक छोटो कल गर्थेँ। महिनामा एक पटक भेट्ने कुरा थियो। मेडिकल कलेजको क्यान्टिन बाहिर आवश्यक परेको खण्डमा भेट्थ्यौँ। कयौँ पटक भेट्यौँ, पाँचदेखि दस मिनेट गफ गरेर निस्कन्थ्यौँ। तर उनीसँग बिदाको दिन पनि घण्टौं बिताउने समय हुन्थेन। मलाई यसमा कुनै आपत्ती थिएन। म एक सरो ड्यूटी गर्ने, उनी भविष्यको डाक्टर बन्न दौडधूप गर्दै छिन्। फरक धेरै छ अन्तर धेरै छ हामीबीचमा।

म एक विवाहित पुरुष, छोरीको बुवा, भलै हामी श्रीमान्–श्रीमती संगै छैनौँ, अझ भनौं अलग भैसकेको थियो भने छोरी म संग थिईन्।

अहिले आकृतीले छोरीलाई राम्रो स्कुल पढाउन भनिरहन्थिन्। उनी परिवारको कान्छी छोरी, निजामती कर्मचारी बुवा, ठूलो दिदी स्थायी माबिको शिक्षिका, दाइ एमबिबिएस गरेर युरोप तिर। त्यसपछि पनि समस्या छ भनी भनिरहन्थिन्। कतै सहज हुने गरी छिटो समय निकालेर कफी खाजाको लागि भेटे मात्र, नत्र खासै फुर्सद हुन्थेन।

रातभर पढेर बसेको भन्दै आउँथिन्, आँखा सुनिने गरी पढ्ने, भनेपछि डाक्टर बन्न सानो मेहनत रहेन छ मैले यती बुझे।

यसरी समय बित्दै थियो। हामी कसैले आइलब यू नभनी, हामी एक खालको प्रेममा थियौँ, गहिरो प्रेममा थियौँ। म राम्ररी कमाउँथेँ। हामीले कहिल्यै दिन बिताउने गरी भेटेनौँ। उनीसँग भएको आधा घण्टा–पचास मिनेट समयमा भेट्थ्यौँ छुट्थ्यौँ। मैले कहिले काही खर्च ल्याऊ लैजाऊ भन्थेँ, उनीले कहिल्यै लगिनन्। बुवाले पठाइदिनु भैसकेको छ, दिदीले दिनुभएको छ भनेरै टारिन्।

यस्तै यस्तै कुरामा हामीले एक साल बितायौँ।

हामी यो बेला सम्म गहिरो प्रेममा थियौँ। म जागीर संगै राजनीतिमा धेरै समय बिताउँथेँ, यसको हिसाब किताब छैन। उनी अन्तिम वर्षको रिजल्टको पर्खाइमा थिइन्। त्यो बेला मैले छोरीलाई काठमाडौं पढ्नको लागि ल्याइसकेको थिएँ। उनी मेरी छोरी भेट्न धेरै इच्छा जाहेर गरिन् तर मैले भेटाइन, खै किन होला कुन्नी।

एकदिन लामो फुर्सदमा हामी बसन्तपुर भेट्यौँ। बिहान ११ बजे देखि साँझ पाँच बजे सम्म बसन्तपुरको एउटा रूफटपमा बितायौँ। मैले कुराकुरामा भने,
“तिम्रो पढाइ पनि सकियो, अब त मिलाएर बिहे गरौं।”

उनले चुपचाप बसिन्, केही बोलिनन्। खै किन होला मलाई थाहा भएन। चुपचाप घर फर्कियौँ। त्यो रात हामी १२ बजे राती सम्म कुरा गरिरहेौँ।

उनले भनिन्,
“मलाई छिटो समय दिनुस्, मैले बुवा आमाको गुन तिर्नु छ, म मेरो घरबाट धेरै ऋणी छु।”
मैले हाँस्दै भनेँ,
“पैसाको कुरा हो, कमाएर दिनुपर्छ भने पनि बिहे पछि पनि बुवा आमालाई दिन सकिन्छ। मसँग पनि केही रकम छ, बुवालाई गाह्रो छ भने दिन सक्छौ।” भनेर सम्झाइरहेँ।
हरेक पटक मलाई नै कमाउन दिनुस्, मेरै कमाइले बुवा आमाको गुन तिर्छु भनी रहिन्। मैले हो हो, हाँस, मात्र भनी रहँदा उनी केही समय फुर्सदिलो थिइन्। कोही आफन्तको डायग्नोस्टिक सेन्टरमा सहयोगका लागि गइन् तर सम्बन्ध उस्तै राम्रो थियो।

यस्तै कुरामा महिना दिन नाघ्यो।
पाटन दरबार स्क्वायरमा मलाई भेट्न बोलाइन। म गएँ, मलाई मिति समय थाहा छ। कालो जिन्स, कालो स्वेटसर्ट, कालो फ्रेमको चस्मा, गोरा मान्छे। मैले प्राय: प्रेमले बोलाउने नामले बोलाएँ। उनी मलाई आतङ्ककारी भन्थिन्।

यहाँ पाटन दरबार स्क्वायर नजिकै एक तल्ला माथि घण्टौं बितायौँ, गफ गर्यौँ। कुराकुराको सिलसिलामा,
“मलाई तपाई असाध्य मन पर्ने मान्छे हो, मैले तपाईंलाई मेरो भविष्य सोचेको मान्छे हुँ, देखेको मान्छे हुँ। तर म तपाईको राजनीतिक जीवनप्रति खुशी छैन। मैले तपाईलाई यो कुरा कहिल्यै भन्न सकेको छैन। त्यसैले मलाई तपाईसँग बिहे गर्ने कुरा सोच्दा पनि मेरो मनले ‘नाइ’ भन्यो। म के गरुँ, मेरो मनलाई ढाँट्न सक्दिन।”

एकै बचनमा हाम्रो प्रेम टुङ्ग्याइयो।
“सय प्रतिशतमा तपाई मलाई एक प्रतिशत मात्र मन पर्दैन, त्यो राजनीति हो…”

थप्दै गईन दलसँग मेरो कुनै आपत्ती छैन, म राजनीतिमा लाग्ने मान्छे त छैन। हरेक पटक तपाईँलाई राजनीति गर्ने मान्छे बाहेक अरुको दृष्टिले हेर्दा म तपाईँलाई परफेक्ट र स्मार्ट लाग्छु। म तपाईँलाई राजनीति छोड भन्न सक्दिन।
तपाईँले भनेझैँ बन्दुकसँग साटेको सारा जिन्दगी कसरी त्याग्न सक्छु म?
हो, म सक्दिन पनि, यसमा मेरो सारा जिन्दगी थियो र अझै पनि जीवित छ।

खै, उनी आफैले बिहेको प्रस्ताव अस्वीकार गरिन् र आफैं रोइन्। म के गरूँ? रुम्की हासुँ? मैले बेस्सरी हग गरे, त्यो दुई वर्षमा पहिलो पटक हो त्यो प्रकारको हग। मैले आँसु देखाइनँ, त्यसपछि सन्नाटा छायो। कोही केही बोलेनौं। उनी आँसु खसालिरहेकी थिइन्, मैले नदेखेझैँ गरेँ। उनले ‘सरी’ भनिन्। हामी उठ्यौं, निस्कियौं, ‘बाइ’ पनि भनेनौं, ‘फेरी भेटौंला’ पनि भनेनौं। चुपचाप छुट्यौं। मैले फर्केर हेरेँ, त्यो बेला सम्म बस्ने स्थान र डेरा सारिसकेको थिएँ।

म पुल्चोकबाट भित्र छिरेँ, मेघा अस्पताल छेउ आइपुगेर बाइक रोकेर आँसु पुछेँ र मनमनै भनेँ -तक्दिर… एउटा प्रेमको अन्त्य हुनै लाग्दा पनि त्यति मन दुखाइन। ठिकै छ, यो समयले यस्तै गरायो। अलिकति नकारात्मक कुरा के भयो भने, हैसियत मिलेन कि के हो भनेर सोचिरहेँ।

त्यसपछि त्यो रात कुरा भएन, निद्रा जस्तै भयो। दिनभर पनि कुरा भएन। उनले साँझ चार बजे ‘मिस यू’ आतङ्ककारी रूपमा लेखिन्, मैले रिप्लाइ गरिनँ। कोठा नजिकै रक्सी पिइरहेँ, मरेन्जेल पिइरहेँ, खप्न सकिनँ। राति कुन बेला म्यासेज गरिन् थाहा छैन, मैले ‘मिस यू, गुड नाइट’ लेखेँ।

यतिखेर म अलि भावुक भएँ, अझ फिल्मी भएँ होला। दुई–चार दिन बिराएर भेट भयो, केही महिनासम्म। त्यसपछि हामी बिस्तारै टाढा हुँदै गयौं। उनले के गरिन् थाहा छैन। मैले केही भावुक, आत्मा केन्द्रित काम गरेँ, भुल्ने प्रयासमा।

म आफैले आकृतीलाई फोन गरेँ। मलाई मिति र समय पनि थाहा छ। मन छ भने भेटौँ, केही भन्छु भनेर बोलाइन् साधा र सिम्पल तरिकाले। भैसेपाटी गेटबाट भित्र सानो कुटेजमा बसेँ। केही बोल्न सकेनौं। कफी मागेर पियौं। आधा घण्टा बितिसक्यो, कसैले केही बोलेनौं।

‘के छ, कस्तो छ?’ भनेरै छुट्यौं। मलाई कम्फर्ट महसुस भएन। मैले ‘जाऔं’ भनेँ, मेरो बाइक फिर्ता लिएँ। त्यो दिन उनी मेरो बाइकमा डिस्ट्यान्स बनाएर बसिन्। मनमनै भनेँ, ‘दुरी कायम गरी सकेछौं।’ मैले पुल्चोक, आकाशे पुल नजिक छोडेर फर्किएँ। त्यसपछि एकै पटक सयबाट नब्बे प्रतिशत तल झर्यो कुराकानी, म्यासेज र भेटघाट।

तेही बेला मैले सबै पीडा भुल्न बुढानिलकण्ठमा महङ्गो पैसा तिरेर ११ दिन मेडिटेशनमा बसेँ। ध्यानबाट बाहिर निस्केपछि मलाई कुनै चिजको महत्व कम हुन थाल्यो। दैनिक त्यो थियो, लाजिम्पाट ड्युटी जाने आउने।

एउटा कुरा अचम्म लाग्यो भने त्यो ११ दिन मेरो मोबाइल अफ थियो। एउटा म्यासेज र कल समेत गरेन। मोबाइल चेक गर्दा थाहा पाएँ। अनि मैले पूर्णरूपमा मेरो मन, मानसिकता बाट डक्टर आकृतीको सबै आकृतिहरू फर्म्याट गरेँ।

समय त्यस्तै थियो, म काम र राजनीति बराबरी गरीरहेको थिएँ। मैले यादै गरिनँ, समय साल बितेको थियो। म अलिक पारिवारिक हुन कोसिस गरिरहेको थिएँ, तर एक्लोपन खट्किरह्यो। छोरी छ, म छोरी, जिन्दगी चलीरहेको छ।

जिन्दगीमा एक न एक दिन कोही न कोही जोडिने रहेछ। यही बेला मैले काठमाडौंमा केही गरी सकेको थिएँ। मन पर्ने पेशा, राजनीति, विचार मिल्ने, जात मिल्ने, भाषा मिल्ने, सबैभन्दा ठूलो मन मिल्ने मान्छे फेरि ठोकियो।

यो अवधि मा डक्टर आकृती पश्चिमी अञ्चल पुगेको देखेको थिएँ, तर मलाई खास अर्थ लाग्दैन थियो। वर्ष दिन बितिसकेको थियो, हामी एक्लै एक्लै यात्रामा निस्केका थियौं।

समयसँग कस्को के पो लाग्दो रहेछ र नजानिदो पाराले म एक केटीसँग प्रेममा रहेँ। तर यो प्रेम अलि फराकिलो थियो, मेरो परिवारसँग सबै जानकार थिए, सामान्य रूपमा मेरो घरमा आउँथे, म उनको घर जान्थेँ, मेरी छोरीसँग चिनजान थियो। यति धेरै प्रेम, सायद यो आवश्यकता थिएन।

कयौँ रात सँगै थियौं, कयौँ दिन सँगै थियौं। कसैसँग गरेको गहिरो प्रेमको अपेक्षा पनि गहिरो थियो। त्यो पूरा हुन सकेन। के हो? धर्मरायो मेरो एउटा सानो प्राविधिक काम अड्किएको थियो, नत्र हामी बिहे नै गर्थ्यौं। केही समस्या देखापर्यो।

यहीबीचमा सर्जक साहित्यकार रमेश बिजी ज्युको एउटा गीतको याद आयो:
‘हजुर भनी चिनेको, तिमी भनी हिनेको, तँ भनेर छोड्यो मायले।’

हो, यो प्रेम सबै चिना मिलेर पनि छुट्यो। ‘तँ’ भनेरै छुट्यो। फेसबुक, वाट्सएप, टिकटकमा ब्लक हानेर विदा भयो। त्यसरी विदा भयो। त्यो खान्दानकी छोरी, तीती स्मार्ट केटीले त्यसरी बोल्छ लेख्छ भनेर मैले कल्पना पनि गरिन।

जिन्दगीमा यो प्रेमले मलाई बेस्सरी धर्मराय बनायो। अझ धेरै धर्मराय भयो यो माया। विश्वास थियो, मेरो जीवन कालको साहस थियो, आट थियो, विश्वास थियो।

यति तिक्तताका साथ सम्बन्ध छुट्यो। यहाँ लेख्न पनि सक्दिन। म आजको मितिसम्म मेरो साइटबाट भने प्रेम गरिरहेको छु, सम्झिरहेको छु, तर केवल कल्पना मात्र गर्छु। अब म एक्लो छु, मलाई यही ठीक छ।

म अब प्रेममा रहन्न। हुँदैन। यो मलाई विश्वास छ। मैले जीवनमा मेरो आमा, मेरो काखमा बितेको दिन सम्झिन्छु। समाधीमा आमालाई दागबत्ती दिएपछि मलाई यत्ति चेतना छ कि जीवनमा सबैभन्दा महत्वपूर्ण वस्तुहरू प्रायः गुम्छन्।

डक्टर आकृतीपछि म संग प्रेममा रहेको प्रेमिकालाई मैले त्यो महत्व दिने थिएँ। सबै स्थानबाट निषेध भएपछि मेरो विक्षिप्तता दैनिक कसैलाई सुनाउन चाहिनँ।

त्यति धेरै समय सँगै रहेको मेरो प्रेम त्यति कमजोर थिएन। पाँच वर्ष सँगै भएको मान्छे पाँच महिना कुर्न नसक्ने। ‘तिमी र तिम्रो मन पढेको छु, अङ-अङ चुमेको छु, छोएको छु।’

कल्पना गर, कुनै दिन मेरो तस्बिर हेरेर अरूको अँगालोमा बेर्नु छ, सम्झनु छ, रुनु छ। तर त्यो दिन कहिल्यै नआओस्। म कामना गर्छु।

हो, जिन्दगी दैनिक यहीँँ चली रहेको छ। हेरौँ, कहिले सम्म चली रहन्छ।

२०७४ साल बैशाख २१ गते बिहान करिब ११ बजे धादिङको गण्डेश हिमाल होटलमा खाना खान लाग्दा मैले तीन वर्षपछि डक्टर आकृति लाई भेटेँ। नमस्ते गरें, मैले पनि नमस्ते फर्काएँ, यो एकदम औपचारिकता मात्र थियो। मैले उनलाई ‘तपाईँ’ भनेर सम्बोधन गरेँ। खाने कि नखाने? एकछिन भयो, खाएको भने। मैले चिसो जुस खानुस् भने, उनी मानिनन्। मैले भने, ‘डाक्टरहरू हाइजिनिक हुनु पर्दछ, खाने–पिउने कुरामा सतर्क हुनुपर्छ । मलाइ याद छ बदाम जुस मागेर पिइनपिउँदै मलाई आकृतिले सोधिन्:
‘आराम हुनुहुन्छ?’
‘ठीकै छु, अलिकति तलमाथि हुँदैछ मान्छे चोला,’ मैले भनेँ।
‘के भयो त्यस्तो?’
‘छातीमा मुटुको समस्या छ।’
‘धुम्रपान छोड्नुस्, ठीक हुन्छ।’
‘हुन्न।’
‘किन?’
‘यो धेरै पुरानो रोग हो।’
‘दबाइ खायर पनी निको भयन भने।’
‘एक्लो छु, चिन्ता छैन।’
‘नानी त?’
‘ठूली भैसक्यो।’

यहि क्रममा चिनजानका अरु साथीहरू आए। मैले खाना खाइसकेको थिएँ। निस्कने बेलामा सोधें, ‘तपाईँ कहाँ जानुहुन्छ?’
‘काठमाडौंसम्म जाने, तलबाट माइक्रो समाउने,’ उनले भनिन्।
‘आउनुहोस्, जाउँ तलसम्म।’
‘तपाईँ कहाँसम्म जानुहुन्छ?’
‘मलेखु हुँदै गाउँ जाने।’
‘हाँसिन।’

बाइकमा चढेर, त्यही दूरीमा मैले केही बोलिन। पुछार बजार ओर्लिएँ, म मलेखु तिर लागेँ। याद आयो हामीले बाइपनि भनेका थिएनौंतर त्यो दिन पनि मनमा केही सोचेनथेँ। म आफ्नो काम र कामको दबाबमा थिएँ। हामी फेसबुकमा साथी थियौं। धादिङ बजारमा भेटेको ७–८ महिना जस्तो लाग्छ। उनको बिहे भएको देखेँ। उनको बिहे अघि वा पछि बुवाको निधन भएको थाहा पाएँ। चिनजानका नेता ज्युले समवेदना व्यक्त गरिरहेका थिए। मैले समवेदना दिन सकिनँ, त्यो बेला म फेसबुकबाट हटिसकेको रहेछु, थाहा थियो।

उनको बिहे हाम्रो तिर हो वा बजारतिर, एक जना अटो पार्ट्स व्यवसायी संग भएको देखेँ। ठूलो व्यवसाय थियो भनेर चिन्थ्यौं हामी। मैले शुभकामना लेखन पनि सकिनँ। अलिकति पोल्दो, दुख्दो, चिमोटिदो, निमोठिदो, नकरात्मक भावना थिएन। ‘समय हो, कोही कसैको बसमा छैन’ भन्ने जस्तो। मैले मेरो जीवनकालमा गुमाउन नहुनेलाई गुमाइसकेको थिएँ। अझ भनौं, प्रेममा पुरै असफल भइसकेँ म। समय यत्तिकै बित्यो। कहीं मेरो मनमा बिझें होला, कोही अरुको मनमा बिझें होला, बिझ्न जरुरी छ, बिझी रह्यो। मैले मेरो जीवनकालमा सम्झी रहने मेरो मनको अन्त:स्करणमा छाया बनी रहने प्रेम पात्र हुन चाहेँ भने पनि छुट्ने होस्, चाहे राजनीति आधार बनाएर छुट्ने होस्। मैले अथाह प्रेम, विश्वास र इज्जत गरेको नारी पात्र हुन। छोटो समय ‘हजुर’ भनेर छुटिनु र लामो समयको प्रेमपछि ‘तँ’ भनेर छुटिनुको अर्थ के फरक छ र? आखिर छुटेकै हो।

म यसपछि पनि मेरो डेरा सारेर कतै पुगेको छु। मेरो छोरी १२ कक्षा पढ्दैछ। मैले बाँचिरहेको न धरनी न विसौलीको अपूरो जीवन पनि अब कुनै हिचकिचाहट बिना सुन्दर लाग्छ, गर्विलो लाग्छ, कम्तिमा जिन्दगी जिउँदैछु।

समय यसरी नै बितिरहेको छ, कोही छैन, कोही, केही छैन, केही बहाना बनाएर टाढा हुँदैछ। जीवनमा ‘म खुसी छु’ भन्ने बहाना चाहिएको छ। यो सार्वजनिक जीवन बिताएका हरूले सामाजिक सञ्जालमा आफ्नो मनका सबै कुरा लेख्न सक्दैनन्, सुनाउन पात्र पनि पाउँदैनन्। हावामा काग खाएको जीवन जस्तै अनुभव हुन्छ। अनुभूति गर्दैछु।

एक दिन खाना खाँदै यस्तै टिक-टिक गर्दै थिएँ।
त्यही महिनाको श्रावण १७ गते अचानक फेरि डक्टर आकृतिको टिकटक देखेँ। प्रदेश नं १ को ताप्लेजुङको निकै विकट गाउँमा हेल्थ क्याम्पिङ गरेको टिकटक थियो। लाइक मात्र गरेर छोडेँ। त्यसपछि मेरो केही भेडीयोमा लाइक देखेँ, मैले फलो गरेँ, पछि साथी भयौं। एक हप्ता पछि एउटा मेसेज आयो:
‘म काठमाडौँमा छु, तपाईँलाई फुर्सद भए भेटौं, मलाई नम्बर छोड्नु होला।’
अर्थात हामीसँग कुनै सम्पर्क सूत्र थिएन।

मैले भने, ‘धादिङ छु, दुई दिने अन्तरक्रिया कार्यक्रममा छु, फर्केपछि कुरा गरौं।’ भनेँ, नम्बर छोडिदिएँ। आशा नभएको मान्छेको फोन कल, मेसेज आउँछ या आउँदैन भन्ने कुनै अर्थ नरहेको रहेछ। आशा झन बिल्कुल नलाग्ने रहेछ।

त्यसैमा शनिबार बिहानै एउटा मेसेजको घण्टी बज्यो।
‘म आकृति, तपाईँलाई फुर्सद छ भने आज बिहानैको खानासँगै ९:३० मा कुपण्डोल आउनुस्।’
मैले भने, ‘म बिजी छु, ११ बजेअघि भेट्न सक्दिनँ। तपाईँ खाना खानुहोस्, म घरैमा खाएर निस्कन्छु।’

१२:३५ मा कुपण्डोल पुगेँ। केही समय कुराकानी गरेँ। म फुटेको जुत्ता सिलाउँदै थिएँ। उनी आइपुगिन्। उभिएर कुरा गर्न थाल्यौं। ‘गोदावरी जाउँ’ भनेँ। म एक-दुई पटक भन्दा बढी नगएको ठाउँ हो। जाँदा जाँदै बाटोमै पानी पर्यो। रेनकोट लगाएर अलिअघि पुगेपछि एउटा कफिसपमा छिरेँ। राम्रो ठाउँ थियो, बस्न लायक। गफ गर्न लायक पनि।

त्यही बसेर केही समय अन्तरङ्ग कुरा गर्यौं। सदाबहार कफी प्रेमीहरू धेरै थरीका कफी पिउँछन्। हामी त्यहाँ कम्तीमा दुई–दुई कप कफी पिउनेवालाहरु थियौं। यो समय निकै बिताउने समय थियो। कुरा सुरु भएको थियो।
आकृति: ‘कपाल फुलेको छ, आतङ्ककारी।’
म: ‘मन भाँचिएपछि फुल्ने कपाल नै हो, अरूको फुल्छ भनेर निमोठेको।’
आकृति: अंग्रेजीमा केही बोल्दै, ‘भेट्न नपाएर बचन।’
(एकछिन सन्नाटा)
म: ‘सन्तानको प्रोसेस भएन कि के हो, डाक्टर साब उमेरले पनि नजिकै पुगेका हौं।’
आकृति: ‘यस्तै छ खै, समय आएको छैन, समय बुझ्न सकेन, अलमलमा छु। अनि के हो छोरी र बाबा मात्रै किन आतङ्ककारी? के पारा चल्दै छ घरमा? मेरो ब्रेकअपपछि रिलेशन भयो…’
आधा-अधि अंग्रेजी मिसाउँदै सोध्दै थिइन्।
म: ‘सबै भयो, अब थाकेँ, यत्तिकै ठिक छु।’
आकृति: ‘भर्खर रमाउने बेलात थियो, किन आत्तिएको हो…’
यत्ति बेला वेटर आइन्, दुई कप ब्ल्याक कफी अमेरिकानो लिएर।

मेरो प्रेम प्रसङ्गले ढिपी गरिरहेको छ। म नभनौं, नसुनौं भन्ने पक्षमा थिएँ। समय आउँछ उपयुक्त पात्र हुनुपर्छ। मैले मेरो पूर्व प्रेमीलाई फेरि प्रेममा पाएको धोका सुनौं भनी मन हल्का पार्न सोचेँ र चुप बसेँ।
आकृति: ‘बोल्नुस्, हामी त अब साथी भयौं, के हुन्छ र…’
एकछिनपछि
म: ‘यस्तै भयो, तिमी संग भन्दा फरक प्रेम थियो। पारिवारिक, आर्थिक, सामाजिक, राजनीतिक रूपमा सबै सहयोग थियो।’
आकृति: ‘अनि…’
कफी आयो। दशकअघि हामीले कफी चेस गरेर पिउन्थ्यौं। तेसै गरी सुरु गर्यौं।
म: ‘धेरै गहिरो प्रेममा सबै हुन्छ रहेछ। सबै भयो। भनु अपेक्षा पनि धेरै हुन्न रहेछ। पूरा नहुँदा छुट्यौं।’
म चुप बसेँ।
आकृति: ‘तिमीले छोड्यौ?’
म: ‘कहिले हो थाहा छैन, कहिले छोडेको थाहा पाइनँ, तर संप्रेषण माध्यममा बल्की गरेको उनी नै हो।’
आकृति: ‘फोटो देखाउन।’
म: ‘तिमी केटा केटी पारा ननिकाल है। तिमी डाक्टर हौ, मानिस हौ, कुरा यत्ती हो।’
(अलिकति निधार खुुम्चाउँदै)
आकृति: ‘छोरी कतै पढिरहेकी छिन? के पढिरहेकी छिन्?’
म: ‘१२ कक्षामा फलानो कलेजमा फलानो विषय।’
आकृति: ‘यहाँ डाक्टरले छोरीलाई पढाउनु छ।’
म: ‘उसको मर्जी, ।’
‘कफी आधा सेलायो।’

मैले उनको बारेमा सोधेँ, उनी भने वालमा थिइन्। त्यसैले मैले सबै कुरा सुनाउन चाहिनँ। म कसैको नजरमा बिचरा बन्न चाहन्न। मैले भोगेको प्रेमको पीडा र जहर किनकि उनले पनि मलाई ठूलो सरप्राइज दिएर एक्लो बनाइन्। मैले अलिकति सुनाएँ। तिमी संग बिछोडिएपछि निकै मुस्किल भयो। उनी चुप बसिन्। मैले सोधेँ, ‘तिम्रो खास के भयो?’
आकृति: ‘लामो सास… फेरि चिसो कफी तानेर, हजुर जतिसम्म भत्किनुभयो, त्यो भन्दा धेरै म भत्कीरहेको छु। म मेरो पेशा प्रति जति सन्तुष्ट छु, इमान्दार छु। मैले रोजेको, परिवारले निर्णय गरेको, परिवारको एक सदस्यबाट खुशी छैन। जीवन पनि ढिलो भएको छ।’ ‘म अहिले माइतमा छु।’
लामो सास तान्दै चुप बसिन्। मैले केही सोध्न सकिनँ। उनले प्रश्न गरिन्, अरू कुरा सुनाउन के भयो अफर?

म: ‘सबै यस्तै भयो, जसरी तिमीलाई प्रेम गरेको थिएँ, तस्तै गरी धोका पनि त्यहीँ भयो। उसले मलाई हेर्न सकिन।’
म: ‘हामी एकआपसमा सुम्पिसकेका थियौं। केही कुरा आर्थिकसँग पनि जोडिएको थियो। म व्यवसायमा डुबेको थिएँ। सानो घर बनाएर ऋणमा थियौं। यस्तै यस्तै भयो, समय कोल्टियो। गाउँबाट आएको साग घ्यु मेरो भाग थियो। अन्तिम पटक तामा मागेको थिएँ उनको गाउँबाट। त्यसपछि हामी…’
आकृति: ‘अनि…’
म: ‘त्यो भन्दा अरू के हुनु थियो र…’
म: साहित्यकार रमेश बिजी ज्युले भनेझैं –
“हजुर भनी चिनेको, तिमी भनी हिनेको त भनेर छोड्यो मायाले…”
यही बीचमा केही मगाएको थियौं, आयो। खासै खाने रुचि थिएन दुबै जनाको।

मेरो जोसुकै होस तर एउटा डाक्टर स्तरको मान्छे कुरा गर्ने तरीका फरक, बुझाइ फरक, जीवनशैली फरक। सम्झेको थिएन रहेछ। उनी पनि रोइन। आखिर मन हो, मान्छे हो। भोगाइ हो। मैले केही कुरा सोधेँ, ‘तिम्रो खास के भयो?’
आकृति: ‘म पेशाले डाक्टर हुँ, जिम्मेवार छु। पारिवारिक रूपमा खुसी हुन सकेको छैन। अगाडि भने, म अहिले माइतमै छु।’
म: ‘किन त?’
आकृति: ‘हरेक मानिससँग जोडिन्छ, छुटिन्छ। एउटा बहाना मात्र हो। मैले तिमी संग ब्रेकअपको निर्णय गर्दा धेरै तनावमा थिएँ। NMC को परीक्षा कसरी फेल नभए, कतै गलत निर्णय गरेन भनेर। म धेरै दिन रोएँ, एक्लै कोठामा थुनिएको थिएँ, परीक्षाको लागि मूभ अन थियो।’
म: ‘अनि…’
आकृति: ‘राम्रोसँग छ महिनाजति हामी सँगै बसेँ। त्यसपछि केही शंका मेरो श्रीमानबाट आयो। म सम्बन्ध सुधारको पक्षमा छु। म छुट्न चाहन्न।’
खाजा खाइसकेको थियो, आधा जति।
अचानक…
आकृतिले ‘जाऔं’ भनी आश्चर्य लाग्ने गरी भनिन्।
म: ‘किन? के भयो? बसौं न, एकछिन।’
तर आकृति जुरुक्क उठिन्। ‘जाऔं’ भनिन्।
म दुबै दुविधामा परेँ। म उठ्ने बित्तिकै उनले कठोर गरी अङ्गालो हालिन्।
उनको आँखाको आँशु मेरो काँधमा तातो महसुस हुँदै थियो।
‘सरी, आतङ्ककारी, मैले गल्ती गरेँ तिमी संगको ब्रेकअपमा।’
(मलाई अचानक ‘तिमी’ भनिन्।)

म: ‘म मेरो आमाको सिंदूर पुछिएको ९ महिना पछि सबै बन्धन तोडेँ, मैले मेरो सिंदूर भरेको हुँ। म यो सिंदूरको कुनै हालतमा रक्षा गर्न चाहन्छु। बस, जाऔं।’
मैले ‘हुन्छ, म सक्दिनँ अब बाँकी कुरा सुन्न र सुनाउन लाइ।’
चुपचाप निस्कियौं। बिलिङ गरेर गोदावरीदेखि सातदोबाटोसम्म आइपुग्दा पनि केही बोलेनौं। बाइकबाट झरेर भुइँतिर हेर्दै भनिन्, ‘मेरो उपत्यकाबाहिर ड्युटी छ। पर्सी हाजिर हुन जानु छ। अब हामी भेट्दैनौं। तिमी संग भेटेर म दुई डुङ्गामा खुट्टा राखेर तैरिन सक्दिन। राम्रोसँग बस्नू।’
अफ्नो बाटो लागीन। म पनि दशक पहिले जस्तै पुल्चोक वरिपरि, सातदोबाटो हुँदै मेघा अस्पताल हुँदै घर पुगेँ। घर पुगेर कल ट्राइ गरेँ, ब्लक गरिएको रहेछ। टिकटक हेर्नू भनी।

सम्झना, डक्टर आकृति जहाँ ड्युटी गरिरहेकी छिन्…

(यो कथाको सम्पूर्ण पात्र र परिवेश काल्पनिक हुन्। कसैसँग मेल खाने भए संयोग मात्र हुनेछ-लेखक केशव पुलामी मगर, धादिङ, ९८५१२४०१४३)