माओवादीबाट बागमतीको मेयर बनेका थापा भ्रष्टाचारमा दोषी ठहर

Avatar photo
Dhadingpost
साउन २२, २०८२

सर्लाही । नेकपा माओवादी केन्द्रका नेता तथा मधेस प्रदेश सर्लाही जिल्ला बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापा भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतले बुधबार थापालाई दोषी ठहर गर्दै एक वर्ष कैद र ३ करोड बढी जरिवानाको फैसला सुनाएको हो ।

थापाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा १ बमोजिमको कसुर गरेको पुष्टि भएकाले उनलाई १ वर्ष कैद र ३ करोड ४५ लाख २२ हजार ३ सय ८७ रुपैयाँ बराबरको जरिवाना तोकिएको छ । त्यस्तै आरोपपत्रमा दाबी गरिएको मध्ये बिगो ३ करोड ४५ लाख २२ हजार ३ सय ८७ बराबरको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति समेत जफत हुने निर्णय विशेष अदालतले गरेको हो ।

उनीसहित अन्य व्यक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० साल चैत २७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अदालतको फैसलाअनुसार, जाँच अवधिमा थापाको कूल आय ९ करोड १४ लाख ३१ हजार हुँदा खर्च भने १२ करोड ५९ लाख ५३ हजार देखिएको थियो । आयभन्दा ३ करोड ४५ लाख २२ हजार ३८७ बढी देखिएको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेपछि अदालतले उक्त रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०९१० बमोजिमको कसूर ठहर गरेको हो ।

बागमती नगरपालिकाको मेयर र उप मेयर दुबै माओवादी हुन् । २०७९ को चुनावमा माओवादीका थापाले ११३५७ मत ल्याई मेयरमा विजयी हुँदा एमालेका टंकबहादुर बस्नेत गोकुलले ७३६८ मत ल्याएका थिए ।