समाज परिवर्तनको मुख्य संवाहक शिक्षक

Avatar photo
Dhadingpost
साउन २१, २०८२

समाज भनेको निरन्तर गतिमा रहने संरचना हो, जसमा समयसँगै परिवर्तन आवश्यक हुन्छ । समाजमा भएका संस्कार, मूल्य, परम्परा, विश्वास र आचरण परिवर्तन हुँदै जानु स्वाभाविक प्रक्रिया हो।समाज परिवर्तन कुनै आकस्मिक घटना होइन, यो क्रमिक प्रक्रिया हो जसमा चेतना, ज्ञान, मूल्य र सोचको परिवर्तनले महत्वपूर्ण भूमिका खेल्दछ । यस परिवर्तनको मूल संवाहक शिक्षक हुन्छन्। शिक्षकले समाजलाई रूपान्तरण गर्न सक्ने शक्ति राख्छन्, किनकि उनीहरूले नयाँ पुस्तालाई मार्गदर्शन, शिक्षा र प्रेरणा प्रदान गर्छन्। शिक्षकले मात्रै मानव चेतनामा गहिरो प्रभाव पारेर नयाँ सोच, दृष्टिकोण र व्यवहार निर्माण गर्न सक्छन्। त्यसैले शिक्षकलाई समाज परिवर्तनको आधारशिला मान्न सकिन्छ ।

शिक्षकको मुख्य भूमिका ज्ञान प्रदान गर्नु मात्र होइन, जीवनदर्शन, नैतिक मूल्य र सामाजिक जिम्मेवारीबारे मार्गदर्शन गर्नु पनि हो। शिक्षकले विद्यालयको कक्षाभित्र मात्र होइन, समाजका प्रत्येक तहमा परिवर्तन ल्याउने भूमिका खेल्दछन् । उनीहरूले विद्यार्थीहरूमा आत्मविश्वास, सोच्ने क्षमता, सहिष्णुता र उत्तरदायित्वको भावना विकास गराउँछन्, जसले भविष्यमा जिम्मेवार नागरिक निर्माणमा सहयोग गर्छ ।

समाजमा रहेका विकृति र विसङ्गतिहरू जस्तै छुवाछुत, जातीय विभेद, लैङ्गिक असमानता, अन्धविश्वास, अशिक्षा आदिको अन्त्य शिक्षामार्फत सम्भव छ। शिक्षकले विद्यार्थीहरूलाई यी कुराहरू विरुद्ध आवाज उठाउन प्रेरित गर्छन् । शिक्षकबाट प्रेरणा पाएर हुर्केका विद्यार्थीहरू समाजका अगुवा, परिवर्तनका संवाहक र नेतृत्वकर्ताका रूपमा उदाउँछन् । उनीहरू न्याय, समानता र विकासको पक्षमा खडा हुन्छन् ।

विशेषतः नेपालजस्ता विकासोन्मुख मुलुकहरूमा शिक्षकको भूमिका अझै महत्वपूर्ण हुन्छ । ग्रामीण भेगमा शिक्षकहरू केवल पठनपाठनका लागि सीमित हुँदैनन्, उनीहरू समाजका सल्लाहकार, अगुवा र प्रेरणाका स्रोत हुन् । गाउँका युवाहरूलाई शिक्षाको महत्व बुझाउने, बालबालिकाहरुलाई विद्यालय पठाउन अभिभावकलाई उत्प्रेरित गर्ने र समाजमा चेतना फैलाउने काम शिक्षकले नै गर्छन् ।

आजको विश्वमा प्रविधि, वातावरणीय समस्या, सांस्कृतिक विविधता र आर्थिक असमानता जस्ता चुनौतीहरू छन् । यस्ता जटिल समस्याको समाधान शिक्षामार्फत नै सम्भव छ । शिक्षकहरूले विद्यार्थीहरूलाई समावेशी सोच, विश्व दृष्टिकोण, समृद्ध संस्कार र जिम्मेवार आचरण सिकाएर यी समस्यालाई सम्बोधन गर्न सक्षम बनाउँछन् ।

विकसित समाजहरूको सफलताको मूलमा शिक्षाको योगदान र त्यसको संवाहक शिक्षक नै रहेका छन् । इतिहासले पनि देखाएको छ कि जहाँ गुणस्तरीय शिक्षा र सक्षम शिक्षकको पहुँच हुन्छ, त्यहाँ समाज द्रुत रूपमा रूपान्तरित हुन्छ । उदाहरणका लागि, सामाजिक सुधारक, वैज्ञानिक, उद्यमी तथा नेता-उनीहरू सबैको जीवनमा कुनै न कुनै शिक्षकको प्रभाव देखिन्छ ।
शिक्षक नै त्यो व्यक्ति हो जसले शून्यबाट सुरु भएको बालकलाई वैज्ञानिक, साहित्यकार, नेता, समाजसेवी वा देशको नीति निर्माता बनाउने आधार तयार गर्छन् । यिनै शिक्षकहरूको प्रयास र प्रेरणाबाट समाजमा सहिष्णुता, समझदारी, समानता र समृद्धिको भावना फैलिन्छ ।

अन्त्यमा भन्नुपर्दा, शिक्षक भनेको केवल पेशा होइन, यो समाजसेवाको एक पवित्र र शक्तिशाली माध्यम हो । समाज परिवर्तनको मार्गमा शिक्षकको योगदान सबैभन्दा निर्णायक हुन्छ । शिक्षामा लगानी गर्नु भनेको भावी पुस्ताको निर्माण गर्नु हो, र शिक्षकलाई सशक्त बनाउनु भनेको समग्र समाजलाई सशक्त बनाउनु हो । त्यसैले शिक्षकलाई सम्मान, सहयोग र अवसर प्रदान गर्न हामी सबैको कर्तव्य हो । शिक्षकप्रति समर्पित समाजले मात्र समृद्ध भविष्य निर्माण गर्न सक्छ ।

(लेखकः बसौला, मंगलादेवी माध्यमिक विद्यालय नेत्रावती डबजोङ-१ धादिङका शिक्षक हुन् )