
काठमाडौं । उच्च अदालत पाटनले प्रसाईंलाई हिंसात्मक आन्दोलनसित जोडिएको मुद्दामा ३ लाख र बैंकिङ कसूर मुद्दामा २५ लाख धरौटीमा छाड्न आदेश दिएलगत्तै दुर्गा प्रसाईं धरौटीमा रिहा भएका छन् ।
चैत १५ गते काठमाण्डौको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोडपछि प्रसाईंविरुद्ध आपराधिक उपद्रव, सङ्गठित अपराधमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
उच्चको आदेश पछि धरौटी रकम बुझाएर प्रसाई डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।
धरौटीमा रिहा भए सँगै प्रसाईले सामाजिक संजालमा लेखेका छन् ।
सम्मानित उच्च अदालतको आदेशले म आज कारागार मुक्त भएको छु । सर्वप्रथम त यस अवधिमा साथ, सहयोग र हौसला प्रदान गर्ने देश तथा बिदेशमा रहनुभएका समस्त नेपालीजनमा हार्दिक आभार व्यक्त गर्दछु । जिल्ला अदालतको आदेशले कारागार चलान गर्दा पनी म अदालतको आादेशलाई शिरोपर गर्दै खुशी साथ नै कारागार गएको थिएँ, आज उच्च अदालतको आदेशबाट रिहाई हुँदा पनी देश निर्माणको भावी योजनाका साथ म घर फर्किदै छु । न्याय मरेको छैन भन्ने आभाष दिलाउनुहुने समस्त श्रीमान सहित अदालत परिवारमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु । मेरा लागी सारा नेपाल मेरो घर हो,कारागार पनी मलाई घर भन्दा फरक लागेन । कारागारमा रहँदा साथ दिने कारागार व्यवस्थापन परिवार, नेपाल प्रहरी, कारागारमा रहनुभएका सबै साथीहरुमा समेत हार्दिक कृतज्ञता र धन्यवाद व्यक्त गर्दछु ।
